छोराको घर फर्किने मिती पर्खिरहेकी आमा औंला देबी र श्रीमानको प्रखाईमा बसेकी झलककी जीवनसंगीनी निर्मलाको झलक फर्किने आशा एकाएक निराशामा परिणत भयो । सधैं जसो फोन गरिरहने झलकको मंगलबार फोन आउनु अघि नै आफन्तको फोन आयो। फोन संगै झलक अब संसारमै नरहेको खबर सुन्न बाध्य भयो झलकको परिवार । झलक अस्ताएको खबर कानमा परे संगै परिवारका सबै खुसीहरु छिनमै बिलाए,सिङ्गो परिवारको आशा भरोसा र खुसीमा कालो बादल मडारियो।प्रदेशबाट आएको फोनले एकैछिनमा परिवारका सबै सपनाहरु चकनाचुर बनाइदियो।विवाह भएको ६ महिना बितिसकेको थिएन । परिवार अझै पनि उत्सवको झल्कोमा थियो। बुढेसकालमा छोरा र बुहारीको साथमा बाँकी जीवन बिताउने सपना सजाएका बुवा–आमा आज चिहानको ढोका हेरेर बसिरहेका छन् ।
दशैँमा घर फर्किने तयारीमा थिए,भारतमै अस्ताए झलक
काठमाडौं;दशैँमा घर फर्किने तयारीमा थिए बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ टम्टानाका २२ वर्षीय झलक कठायत। रोजगारीको सिलसिलामा भारतको केदारनाथमा ज्याला मजदुरी गर्दै आएका तीनै झलक कलिलै उमेरमा कहिँले नफर्किने गरि अस्ताए। ६ महिना अघि मात्रै बिवाह गरेर केदारनाथ गएका झलकको मंगलबार दिउँसो अप्रत्याशित मृत्यु भयो। काम गर्ने क्रममा भिरबाट ढुङ्गा खसेर उनी गम्भीर घाइते भए।भिरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका झलकलाई संगै काम गर्ने आफन्तहरु र भारतीय सुरक्षाकर्मीको सहयोगमा सोन प्रयाग अस्पताल पुर्याए।
तर अस्पताल पुर्याएको केही छिनमै अस्पतालले झलकलाई मृत घोषणा गर्यो । अहिले उनको शब पोष्टमाटमका लागि राखिएको आफन्त प्रेम रावतले जानकारी दिएका छन् । मृतकका बुवा पनि रोजगारीको सिलसिलामा भारतकै सिम्ला पहाडमा छन् । उनी त्यहाँबाट फर्किसकेकाले बिहिवार पुगिसकेपछि मात्रै अन्तिम दाहासंस्कार गरिने पनि पारिवारिक श्रोतले जनाएको छ ।
कामको सिलसिलामा भारतको केदारनाथ मन्दिरमा तीर्थयात्रा खच्चर चलाउँदै आएका झलक ज्याला मजदुरीका लागि चार महिना अघि मात्रै घरबाट हिँडेका थिए । बिवाह गरेको दुई महिना नबित्दै उनी भरखरै बिहे गरेकी श्रीमती निर्मलालाई बुवा आमाको जिम्मा छोडेर केदारनाथ पुगेका थिए। उनको घर फर्किने समय नजिकिदै थियो। आमा औंला कठायत छोरा घर फर्किने दिन गन्दै थिईन् । मृतक झलककी श्रीमती निर्मला श्रीमानको बाटो पर्खिरहेकी थिइन् ।
दिन गुजारा गर्नकै लागि प्रदेशीनुपर्ने बाध्यताका कारण बिहे भएको दुई महिना पनि संगै बस्न नपाएकी निर्मला धोको फेर्ने गरि श्रीमानको साथमा रमाउने समयको प्रखाईमा थिइन् । तर बिडम्बना श्रीमान झलक अब कहिँले फर्किने छैनन् । उनी सधैंका लागि अस्ताईसके, हराईसके,अब उनी फर्किने छैनन्, भेटिने छैनन् अनि बोल्ने छैनन्। मृत्यु निश्चित छ, एक दिन सबैले यो संसार छोड्नु त छदैछ । तर झलकको अपत्यारिलो आकस्मिक मृत्युको खबरले सिङ्गो गाउँ स्तब्ध भएको छ । संगै बिद्यालय पढेका साथीहरू,घर परिवार र सिङ्गो गाउँ बिक्षिप्त बनेको छ ।
घरमा रुवाबासी चलेको छ । आमा औंला कठायत र झलककी श्रीमती निर्मला रुँदा रुँदा मुर्छा पर्छन् । घरको जेठो छोरा समेत रहेका झलक सिङ्गो परिवारको आश भरोसा थिए। उनकै आशमा बाँचेको थियो झलकको परिवार । ६ महिना अघि बिवाह गरेपछि परिवारमा खुसीयाली छाएको थियो । तर त्यो खुसी ६ महिना सम्म पनि टिक्न सकेन।
छोराको घर फर्किने मिती पर्खिरहेकी आमा औंला देबी र श्रीमानको प्रखाईमा बसेकी झलककी जीवनसंगीनी निर्मलाको झलक फर्किने आशा एकाएक निराशामा परिणत भयो । सधैं जसो फोन गरिरहने झलकको मंगलबार फोन आउनु अघि नै आफन्तको फोन आयो। फोन संगै झलक अब संसारमै नरहेको खबर सुन्न बाध्य भयो झलकको परिवार । झलक अस्ताएको खबर कानमा परे संगै परिवारका सबै खुसीहरु छिनमै बिलाए,सिङ्गो परिवारको आशा भरोसा र खुसीमा कालो बादल मडारियो।प्रदेशबाट आएको फोनले एकैछिनमा परिवारका सबै सपनाहरु चकनाचुर बनाइदियो।
प्रदेशमै रहेका झलकका बुवा हाँगाबाट खसे जस्तै भए। झलक अस्ताए संगै उनको परिवारमा ठुलो बज्रपात आईलाग्यो । विवाह भएको ६ महिना बितिसकेको थिएन । परिवार अझै पनि उत्सवको झल्कोमा थियो। बुढेसकालमा छोरा र बुहारीको साथमा बाँकी जीवन बिताउने सपना सजाएका बुवा–आमा आज चिहानको ढोका हेरेर बसिरहेका छन् ।
दैब पनि कति निष्ठुरी रहेछ, समय पनि कति निर्मम बनेको ? झलकलाई आमा बुवाको काखबाट २२ वर्षको कलिलै उमेरमा खोसिदियो, झलक अस्ताए संगै परिवारका सारा सपना उनी बिलाए जस्तै बिलाए । ६ महिना अघि मात्रै बिहे गरेरे घर भित्र्याएकी निर्मलाको सिँउदोको सिन्दुर पुछियो,आमा औंला देविको कोख रित्तियो, बुवाले बुदेशकालको साहारा गुमाए। भाई बहिनीहरुको सुन्दर भविष्यको सपना चकनाचुर भयो ।
श्रीमानको मृत शरिर पनि सुमसुम्याउन पाइनन्,
सुखदुःख जिन्दगीमा चलिरहन्छ,कहिँले सुख त कहिँले दुःख त प्रकृतिको रित हो । तर यस्तो बज्रपात कसैलाई नपरोस् । झलककी आमा र श्रीमती निर्मलाले मृत शरीर सुमसुम्याउने धोको गरिरहेकी छन् । तर शब नेपाल नल्याउने र त्यहीँ दाहासंस्कार गर्ने तयारी आफन्तको छ। दशैँमा घर फर्किने भन्दै छोराको बाटो कुरीरहेकि आमाले मृत छोराको लास समेत हेर्न नपाउने भएकी छन् । छोराको मृत शरीर सुमसुम्याउने धोको समेत अधुरै रह्यो ।
जिन्दगीभर संगै जिउँने अनि मर्ने कसम खाएर ६ महिना अघि मात्रै बिवाहा बन्धनमा बाँधिएकी निर्मलाले श्रीमानको मृत शरीर समेत सुम्सुम्याउन पाइनन् । सहयात्राको ६ महिना नबित्दै श्रीमानले एक्लो बनाएर गए। छोटो समयकै वियोगको पीडा कति धेरै हुन्छ त्यो कल्पना गर्न सकिदैन, शब्दमा बयान गर्न सकिदैन । त्यो भोग्नेलाई थाहा हुँदो हो। सिँउदोको सिन्दूरले आज शोकको रङ ओढेको छ । उनको जीवन नै उजाडीएको छ। एउटी महिलाले जीवन साथि गुमाउनु भनेको सवथोक गुमाउनु हो ।अव निर्मलाले गुमाउन बाँकी केही रहेन ।
लामो समयसम्मको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी निर्मलाको यो हृदयविदारक घटनालाई शब्दमा बयान गर्न सकिन्न । यो नै नेपाली समाजको वास्तविकता हो । झलकको मृत्यु त प्रतिनिधि घटना मात्रै हो। मरेको दिन आमालाई दागबत्ती दिने छोराको मृत शरीर समेत सुमसुम्याउन नपाउने कयौं आमाहरु छन् । कयौं श्रीमतीहरु छन् कयौं बालबालिकाहरु छन् यो नै नेपाली समाजको तितो यथार्थता हो।
घरको जेठो छोरा थिए,परिवारको जिम्मेवारी सबै उनकै काँधमा थियो । पढ्ने लेख्ने उमेरमै घरको जेठो छोरा भएकै कारण जिम्मेवारी सबै उनकै काँधमा आएपछि पढाई छोडेर परिवार पाल्न भारत गएर ज्याला मजदुरी गर्न बाध्य भएका थिए ।
भाईलाई बिदेश पठाउने तयारीमा थिए झलक,
ज्याला मजदुरीका लागि भारत आउने जाने गरिरहने झलकले एक वर्ष पहिला सोही स्थानमा काम गरेको थिए । ६ महिना अघि मात्रै निर्मला बुढा संग बिवाह गरेका थिए । कृषि जेटिएमा १८ महिने कोर्ष पूरा गरेका उनले कक्षा १२ समेत उतिर्ण गरिसकेका थिए। तर परिवारको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न सक्ने अवस्था थिएन। त्यसैमा ६ महिना अघि बिवाह गरेपछि थप जिम्मेवारी थपियो। उच्च शिक्षा अध्ययन गर्ने अवस्था नभएपछि झलक पछाडीका भाईबहिनीको उज्ज्वल भविष्यका लागि भारत हानिएका थिए।
मृतक झलकका दुई भाई तीनवटा दिदिबहिनी छन् । दुई दिदि पछि तेस्रो सन्तानका रुपमा जन्मिएका झलक जेठो छोरा हुन् । उनका दुई भाई छन् । भाईलाई वैदेशिक रोजगारीमा पठाउने तयारीमा थिए उनी। भाई राजधानी काठमाडौंमा बिदेशका लागि तयारी गर्दै थिए। मृतक झलकका काका नाता पर्ने राम कठायत भन्छन्,
इमान्दार थिए,आर्थिक अवस्था कमजोर छ,पढाईमा अब्बल थिए,तर उच्च शिक्षा पढ्न सक्ने अवस्था रहेन त्यसैले भारतमा काम गर्दै परिवार पाल्दै आएका थिए,अहिले घरमा रुवाबासी चलेको छ,कोही बोल्न सक्ने अवस्थामा छैनन्
झलक एक प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्तै कयौं सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरु पेट पाल्नका लागि रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा पुग्ने गर्छन् । अधिकांश नेपाली युवाहरु भारतको केदारनाथमा भारी बोकेर दिन गुजारा गर्दै आएका छन् । यहीँ सिलसिलामा कयौं नेपाली युवाहरु विभिन्न कारणले ज्यान गुमाउदै आएका छन् । रोजगारीका लागि बिदेशीनु नेपाली युवाहरुका लागि नियति जस्तै बनेको छ। व्यवस्था बदलियो अवस्था बदलिन सकेन। बाजुराका अधिकांश पालिकाका युवाहरु गरिबीकै कारण पढ्ने,लेख्ने उमेरमै जिविको पार्जनका लागि भारत जानुपर्ने परिस्थिति निकै दुर्भाग्यपूर्ण र कहालीलाग्दो छ।
अधिकांश बाजुराका युवाहरु भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । त्यसमा पनि छेडेदह गाउँपालिकाका युवाहरु भारतको पौडी गडवाल,दिल्ली,अलमोडा पिथौरागड, रानीखेत, केदारनाथ लगायतका क्षेत्रमा गएर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गर्छन् । अधिकांश त सपरिवार भारतै बस्ने गरेका छन् । धेरै जसो त सपरिवार भारतमै बस्ने गरेका छन् । रोजगारीको सिलसिलामा भारत गएका अधिकांशको भारतमै विभिन्न कारणले मृत्यु हुने र कयौं उतै बेपत्ता हुने गरेको काहालीलाग्दो अवस्था छ ।
खेतीपाती गरेर ६ महिना पनि परिवारको छाक टार्न नपुग्ने भएपछि भारत लगायतका बिदेशी मुलुकमा ज्याला मजदुरी गेरेर परिवारको दिन गुजारा चाउनुपर्ने बाध्यता छ। कयौं बेपत्ता कयौं अङ्गभङ्ग, कयौंको मृत्यु भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका भएपनि बिदेशीने क्रम भने बढ्दो छ।
सिमा नाकामा होस् वा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा होस् बिदेशीने नेपालीको ताती छ । कयौंको मृत्यु भएर नेपालीहरु बाकसमा लास बनेर फर्किन्छन् । वर्षेनी ५ लाख बढी युवा बिदेशीने गरेका छन् भने १ हजार बढी युवाहरु लास बनेर नेपाल बाकसमा फर्किरहेका छन् । तर राज्यलाई यो काहालीलाग्दो अवस्था प्रति कुनै चिन्ता र चाँसो छैन ।