खप्तड छेडेदह–३ मा पहिरोका कारण एक घर उच्च जोखिममा, परिवार विस्थापित

विस्थापित परिवार अन्यत्र सार्नुपर्ने प्रहरीको टोली घटनास्थल तर्फ जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

छोराहरूले भारतमा ज्याला मजदुरी गरेर र आफूले वर्षौंसम्म ज्याला मजदुरी गरेर बनाएको घर पहिरोको उच्च जोखिममा परेपछि अहिले आफू विक्षिप्त भएको खड्काले बताएका छन्।"घर अगाडिसम्मै पहिरो आइसकेको छ। ऋण जोहो गरेर र वर्षौंसम्म छोराहरू र आफ्नो पसिनाको कमाइले बनाएको घर बग्ने स्थितिमा पुग्यो। यति धेरै लगानी पहिरोसँगै बग्यो। अब कहाँ जाने? घर अगाडिको सबै जग्गा बगाइसक्यो, अब घर मात्रै बाँकी छ," उनले भने।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

विस्थापित परिवार अन्यत्र सार्नुपर्ने प्रहरीको टोली घटनास्थल तर्फ जाँदै

बाजुरा : बाजुरामा सोमबार परेको अविरल वर्षाका कारण एक घर पहिरोको उच्च जोखिममा परेको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ टुनिसैनका स्थानीयवासी डिल्ली खड्काको घर अगाडि पहिरो जाँदा घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन्।


स्थानीयका अनुसार हिजो साँझपख परेको अविरल वर्षाले स्थानीय डिल्ली खड्काको घर वरिपरि पहिरो लागेको थियो। पहिरोले घर अगाडिको खेतीयोग्य जमिन सबै बगरमा परिणत गरेको छ। पहिरो घरको आँगनसम्मै पुगेको छ। घर अगाडिको करेसाबारी लगायत ठूलो खेतीयोग्य जमिन नै बगाएको छ।


राती खाना पकाइरहेकै समयमा घर अगाडि पहिरो लागेर आँगनसम्मै पुगेपछि रातभर खड्काको परिवार जाग्राम बसेको थियो। ज्याला मजदुरी गरेर दिन गुजारा गर्ने खड्काका दुई छोरा–बुहारी रोजगारीको सिलसिलामा भारतको बेङ्लोरमा बस्दै आएका छन्। खड्काले केही वर्षअघि मात्रै करिब १२ लाखभन्दा बढी लगानीमा पक्की घर बनाएका थिए।


छोराहरूले भारतमा ज्याला मजदुरी गरेर र आफूले वर्षौंसम्म ज्याला मजदुरी गरेर बनाएको घर पहिरोको उच्च जोखिममा परेपछि अहिले आफू विक्षिप्त भएको खड्काले बताएका छन्।"घर अगाडिसम्मै पहिरो आइसकेको छ। ऋण जोहो गरेर र वर्षौंसम्म छोराहरू र आफ्नो पसिनाको कमाइले बनाएको घर बग्ने स्थितिमा पुग्यो। यति धेरै लगानी पहिरोसँगै बग्यो। अब कहाँ जाने? घर अगाडिको सबै जग्गा बगाइसक्यो, अब घर मात्रै बाँकी छ," उनले भने।


अहिले खड्काको घरमा चार जनाको परिवार बसोबास गर्दै आएका थिए। घरको आँगनसम्मै पहिरो आएपछि चार जनाको परिवारको बिचल्ली भएको छ। सिङ्गो परिवार विस्थापित भएको छ। पहिरोले घर उच्च जोखिममा परेकाले घरमै बस्न सकिने अवस्था छैन। चार जनाको परिवारलाई तत्काल अन्यत्र सार्नुपर्ने स्थानीय बिराज खड्का बताउँछन्।

अहिले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई समेत घटनाबारे जानकारी गराइएको छ। यता वडा अध्यक्ष विर्कबहादुर रावतलाई बुझ्दा वडाको जनप्रतिनिधिको टोली अनुगमनका लागि तत्काल पठाउने बताएका छन्। आफू सदरमुकाम मार्तडीमा रहेको बताउँदै अध्यक्ष रावतले इलाका प्रहरी कार्यालय टाँटेलाई खबर गरिसकेको र वडा सदस्यहरूलाई पनि तत्काल घटनास्थल पठाएको बताए।यता इलाका प्रहरी कार्यालय टाँटेले प्रहरीको टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको जनाएको छ।

यससँगै गाउँका अन्य थुप्रै स्थानमा रहेका खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुगेको छ भने दर्जनौँ घरहरू पहिरोको उच्च जोखिममा रहेका छन्। टुनिसैन गाउँ जिल्लाकै बाढी–पहिरोबाट सबैभन्दा बढी जोखिममा रहेका गाउँहरूमध्ये एक हो। यस गाउँका बासिन्दाका लागि हरेक वर्षात् नयाँ विपत्ति लिएर आउने गर्छ। वर्षा सुरु भएसँगै उनीहरूको दिनचर्या त्रासमा बित्छ।

कति रात त निद्रा होइन, जाग्राममै बित्छ। कुन क्षण पहिरो खस्ने हो, कुन बेला सिङ्गो गाउँ नै बगाएर बगरमा परिणत हुने हो भन्ने भयले वर्षौंदेखि उनीहरू असुरक्षित जीवन बिताउन बाध्य छन्।स्थानीयले वर्षौंदेखि सुरक्षित स्थानमा पुनर्स्थापनाको माग गर्दै राज्यका सम्बन्धित निकायको ढोका ढकढक्याइरहेका छन्। तर उनीहरूको पीडा र पुकार अहिलेसम्म सुनुवाइ हुन सकेको छैन। राज्यको बेवास्ताका बीच हरेक वर्ष पहिरोले उनीहरूको उब्जाउ खेतीयोग्य जमिन बगाइरहेको छ। जीविकोपार्जनको मुख्य आधार बनेका खेतबारी मासिँदै गएका छन् भने बाँकी रहेका थोरै जमिन पनि जोखिममा छन्।


रोजीरोटीका लागि भारतका विभिन्न सहरमा ज्याला मजदुरी गर्न बाध्य यहाँका स्थानीयहरू घरभन्दा टाढा भए पनि वर्षात् लाग्नासाथ आफ्ना परिवारको सुरक्षाको चिन्ताले रातभर निदाउन सक्दैनन्। गाउँमा रहेका परिवारका सदस्यहरू पनि प्रत्येक वर्षात् मृत्युको त्राससँगै बाँच्न विवश छन्। सुरक्षित भविष्यको आशामा बितेका वर्षहरू धेरै भए, तर टुनिसैनका बासिन्दाका लागि वर्षा अझै पनि प्राकृतिक मौसम होइन, एउटा कहालीलाग्दो विपत्तिको प्रतीक बनेर आइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।