बडीमालिका–६ का वडा अध्यक्ष फागुनदेखि गायब,फेसबुकमा भेटिन्छन्,वडामा भेटिँदैनन्

विवादित छविका खड्का टोले गुण्डाको शैलीमा पत्रकार धम्क्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
📌

समाचारको संक्षेप

सिधा प्रहार डटकमलाई प्राप्त जानकारीअनुसार खड्का निर्वाचित भएपछि नियमित रूपमा कहिल्यै वडामा बसेका छैनन्। उनी प्रायः वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएर काठमाडौंमै बस्ने गरेका छन्। स्रोतका अनुसार वडामा सेवाग्राही जाँदा खड्का प्रायः बिरलै वडामा भेटिने गरेका छन्। पाँच वर्ष बित्दै गर्दा खड्का वडामा निकै कम उपस्थित हुने गरेको स्रोतको दाबी छ।“उहाँ निर्वाचित भएपछि प्रायः वडामा बस्नुहुन्न। विभिन्न बहानामा काठमाडौं जानुहुन्छ, कहिले बिरामीको बहानामा, कहिले योजना माग्ने बहानामा। महिनैपिच्छे काठमाडौं, धनगढी जाने र आउने, महिनौँ दिनपछि कहिलेकाहीँ मात्रै वडामा उपस्थित हुनुहुन्छ,” वडाकै एक स्थानीयले आफ्नो नाम नखुलाउने सर्तमा सिधा प्रहार डटकमलाई बताए।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

विवादित छविका खड्का टोले गुण्डाको शैलीमा पत्रकार धम्क्याउँदै

काठमाडौं:बाजुराको बडीमालिका नगरपालिका–६ का वडा अध्यक्ष कृष्ण खड्का गत फागुनदेखि वडामा अनुपस्थित रहेको भेटिएको छ। बिरामी बिदा लिएर राजधानी हानिएका खड्का त्यसपछि फागुनदेखि वडामा उपस्थित नभएको पाइएको हो।


गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि स्वास्थ्यमा समस्या आएको भन्दै वडा सदस्य परे बडुवाललाई कार्यवाहकको जिम्मेवारी दिएर वडाबाट निस्किएका खड्का त्यसपछि वडा कार्यालय फर्किएका छैनन्। उसो त खड्काले कार्यवाहक वडा सदस्यलाई जिम्मेवारी सुम्पिएर काठमाडौं झरेको यो पहिलो घटना नभएको वडावासीहरू बताउँछन्।


सिधा प्रहार डटकमलाई प्राप्त जानकारीअनुसार खड्का निर्वाचित भएपछि नियमित रूपमा कहिल्यै वडामा बसेका छैनन्। उनी प्रायः वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएर काठमाडौंमै बस्ने गरेका छन्। स्रोतका अनुसार वडामा सेवाग्राही जाँदा खड्का प्रायः बिरलै वडामा भेटिने गरेका छन्। पाँच वर्ष बित्दै गर्दा खड्का वडामा निकै कम उपस्थित हुने गरेको स्रोतको दाबी छ।“उहाँ निर्वाचित भएपछि प्रायः वडामा बस्नुहुन्न। विभिन्न बहानामा काठमाडौं जानुहुन्छ, कहिले बिरामीको बहानामा, कहिले योजना माग्ने बहानामा। महिनैपिच्छे काठमाडौं, धनगढी जाने र आउने, महिनौँ दिनपछि कहिलेकाहीँ मात्रै वडामा उपस्थित हुनुहुन्छ,” वडाकै एक स्थानीयले आफ्नो नाम नखुलाउने सर्तमा सिधा प्रहार डटकमलाई बताए।


स्रोतको दाबीअनुसार खड्का धेरैजसो वडामा कमै बस्ने गर्छन्। कतिपयले त खड्का घुमफिरका लागि विभिन्न बहानामा काठमाडौं बस्ने गरेको आरोपसमेत लगाउने गरेका छन्। काठमाडौं घुम्न मन लागेपछि विभिन्न बहानामा कार्यवाहक सुम्पिएर खड्का काठमाडौं–धनगढीको टुर निस्किने गरेको भन्दै वडावासी आक्रोशित छन्।

फेसबुकमा भेटिने, वडामा नभेटिने खड्का टोले गुण्डाको शैलीमा पत्रकार धम्क्याउँदै:

तर रोचक कुरा त के छ भने वडामा बिरामी छु भन्दै वडा सदस्यलाई कार्यवाहक सुम्पिएर उपचारका लागि काठमाडौं आएका खड्का सामाजिक सञ्जालमा भने सक्रिय छन्। पछिल्लो समयमा खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका केही स्टाटसले उनलाई विवादमा समेत तानेका छन्। यतिमात्र होइन, उपचार गराइरहेको भन्दै वडामा बोलाउँदा समेत नगएका खड्का सामाजिक सञ्जालमा भने दैनिक आलोचना गर्न, टिप्पणी गर्न तथा आरोप–प्रत्यारोपमा व्यस्त देखिन्छन्।


यही सिलसिलामा वडा अध्यक्षजस्तो जिम्मेवार पदको नै धज्जी उडाउँदै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई लत्याएर अश्लील टिप्पणी गर्दै पत्रकारलाई धम्क्याएको पोस्ट सार्वजनिक भयो। यसले खड्काको सामाजिक सञ्जालमा एकाएक चर्को आलोचना भएको थियो। उनले प्रयोग गरेको तुच्छ र अश्लील भाषाले उनको पदीय मर्यादा, जिम्मेवारी र नैतिकतामाथि नै व्यापक रूपमा प्रश्न उठेपछि खड्काले उक्त स्टाटस मध्यराति डिलिट गरेका छन्। यद्यपि उनले लेखेको उक्त धम्कीपूर्ण, अश्लील तथा तुच्छ टिप्पणीसहितको स्टाटस सिधा प्रहार डटकमले सुरक्षित राखेको छ।


उनले काठमाडौंमा लामो समयदेखि पत्रकारितामा सक्रिय एवान मिडियाका सञ्चालक प्रकाश थापाको नाम उल्लेख गर्दै धम्कीपूर्ण भाषामा ठेगाना लगाउने भन्दै अश्लील र छुद्र टिप्पणीसहितको स्टाटस लेखेका थिए।
पत्रकार थापाले पछिल्लो समयमा जिल्लाका जनप्रतिनिधिका कमी–कमजोरीमाथि प्रश्न उठाउँदै निरन्तर खबरदारी गर्दै आएका छन्। केही समयअघि वडा अध्यक्ष खड्काले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकमाथि कार्यकक्षमै अभद्र व्यवहारसहित हातपात गरेको सार्वजनिक भएको भिडियोको स्क्रिनसट राखेर बाजुराका जनप्रतिनिधिले विगतमा राष्ट्रसेवक कर्मचारीमाथि गर्ने व्यवहार कस्तो छ भनेर प्रश्न उठाएका थिए। वडा अध्यक्ष खड्काले फेसवुक मार्फत अदालतबाट किनारा लागिसकेको पुरानो कुरालाई कोट्याएर आफ्नो चरित्र हत्या गरेको आरोप सहित पत्रकार थापा माथी खनिएको देखिन्छन् । 


सोही विषयलाई लिएर वडा अध्यक्ष खड्काले पत्रकारलाई धम्कीपूर्ण भाषामा ठेगाना लगाउने भन्दै पदीय मर्यादाको सीमा नाघेर तल्लो स्तरमा ओर्लिएर टोले गुण्डाको शैलीमा धम्क्याएको आरोप लागेको छ। यता पत्रकार थापाले वडा अध्यक्ष खड्काको स्टाटसमै प्रतिक्रिया दिँदै कसैको धम्कीले प्रश्न गर्न र खबरदारी गर्ने विषयबाट पछि नहट्ने प्रतिक्रिया दिएका थिए। यता, यस विषयमा वडा कार्यालयका सचिव अमर बडुवाललाई सोध्दा फागुनदेखि कार्यवाहक दिएर आजका मितिसम्म वडा कार्यालयमा नफर्किएको बताए। के कारणले गएका हुन् भन्ने आफूलाई जानकारी नभएको बताउँदै उनले कार्यवाहक दिएर निस्किएको दिनदेखि नै वडामा अनुपस्थित रहेको बताए।


यस्तै, कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका वडा सदस्य परे बडुवालले पनि आफूले फागुनदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेको स्वीकार गरेका छन्। मोटरसाइकल दुर्घटनापछि स्वास्थ्यमा समस्या भएकाले उपचार गराउन जाने भन्दै वडाबाट निस्किएको कार्यवाहक अध्यक्ष बडुवालको भनाइ छ।
टेलिफोन कुराकानीमा बडुवालले भने, “उहाँ बिरामी भनेर जानुभएको हो, फर्किनुभएको छैन। मोटरसाइकल दुर्घटना भएकाले त्यसैको उपचार गराइरहेको छु भन्नुहुन्छ। हामीले बीचमा बोलाउँदा पनि त्यही भन्नुभयो।”


यता नगर प्रमुख अमर खड्काले भने कार्यपालिकाको बैठकमा उपस्थित हुनुस् भनेर फोन गर्दा नआएको बताए। बिरामी छु भनेर उपचारका लागि काठमाडौं आएका वडा अध्यक्ष खड्का कहिले पेट दुखेको उपचार गर्दैछु भनेर नगरप्रमुखलाई बताउने र कहिले मोटरसाइकल दुर्घटनापछि आएको स्वास्थ्य समस्याको जाँच गरिरहेको बताउने गरेको नगरप्रमुखको भनाइ छ। हामीले यस विषयमा खड्काको प्रतिक्रिया लिने प्रयास समेत गरेका थियौँ। तर उहाँको फोन सम्पर्क हुन सकेन।


प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै दिएका थिए गोली ठोक्ने धम्की:


विभिन्न कारणले बेला–बेला विवादमा र चर्चामा रहने खड्काले २०८० असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकलाई कार्यकक्षमै गोली हान्ने धम्की दिएका थिए। कार्यकक्षमै गोली हान्ने धम्कीपछि विकले वडा अध्यक्षविरुद्ध कानुनी बाटोसमेत रोज्न बाध्य भएका थिए। यो घटनाले पनि त्यतिबेला खड्काको चौतर्फी आलोचना र विरोध भएको थियो। यद्यपि उक्त घटना सम्मानित अदालतबाट टुंगिएको खड्काको दाबी छ। यसरी विवादित छविका वडा अध्यक्ष खड्का वडाका जनतासामु चुनावमा भोट माग्दा गरेका प्रतिबद्धताविपरीत वडा अध्यक्षको जिम्मेवारीको दुरुपयोग गरिरहेको आरोपसमेत उनीमाथि लाग्दै आएको छ।
काठमाडौं, धनगढी घुम्नका लागि मात्रै वडा अध्यक्ष भएको हो वा जनताका काम गर्न वडा अध्यक्ष भएको हो? भन्दै उनलाई प्रश्न गर्नेहरू पनि त्यत्तिकै छन्। तर यी सबै प्रश्न र गुनासालाई बेवास्ता गर्दै खड्का भने सामाजिक सञ्जालमा पार्टीको प्रचार तथा पक्ष–विपक्षमा बहस गर्नमै व्यस्त छन्। उनका वडावासीका हकमा खड्का गत फागुनदेखि फेसबुकको स्टाटसमा त देखिन्छन्, तर वडामा कहिल्यै नदेखिने र नभेटिने अवस्था रहेको स्थानीयको गुनासो छ।

वडा अध्यक्षको कुर्सी व्यक्तिगत स्वार्थ, घुमफिर र सामाजिक सञ्जालमा शक्ति प्रदर्शन गर्ने ठाउँ होइन, जनताले विश्वास गरेर सुम्पिएको जिम्मेवारी हो। महिनौँसम्म वडामा अनुपस्थित भएर कार्यवाहकको भरमा जिम्मेवारी छाड्नु, तर सामाजिक सञ्जालमा भने निरन्तर सक्रिय रहनु आफैंमा गम्भीर प्रश्न हो। त्यसमाथि पत्रकारलाई धम्कीपूर्ण र अश्लील भाषामा प्रस्तुत हुनु पदीय मर्यादा र नैतिकताको सीमामाथि गम्भीर प्रहार हो।

जनताको सेवाका लागि पाएको पदलाई नै जनताबाट टाढा रहने माध्यम बनाउनु र जिम्मेवारीभन्दा व्यक्तिगत उपस्थितिलाई प्राथमिकता दिनु जनताको विश्वासमाथिकै उपहास हो। जनप्रतिनिधिले आलोचना सुन्न सक्नुपर्छ, प्रश्नको जवाफ दिन सक्नुपर्छ र आफ्नो आचरणबाट पदको गरिमा जोगाउन सक्नुपर्छ। तर जिम्मेवारीबाट पन्छिएर सामाजिक सञ्जालमा बहस गर्ने र प्रश्न उठाउनेलाई धम्क्याउने प्रवृत्तिले एउटा गम्भीर प्रश्न भने छाड्छ—जनताको मतले दिएको कुर्सीको मर्यादा जोगाउन नसक्नेले आखिर जनताको जिम्मेवारी र विश्वासको मर्यादा कसरी जोगाउला?

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।