सुदूरको स्वर सम्राटका रूपमा परिचित प्रकाश थापा, नामजस्तै चम्किएको सांगीतिक यात्रा

२०५७ साल देखी निरन्तर चर्चाको शिखरमा रहेका थापा को हुन् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
📌

समाचारको संक्षेप

प्रकाश थापाको बहुआयामिक प्रतिभालाई शब्दमा समेट्न सहज छैन। उनको सांगीतिक योगदान र निरन्तरतालाई एउटै परिचयले बाँध्न पनि सकिँदैन।माया, साथ र हौसला नै उनको सबैभन्दा ठूलो धन हो।त्यसैले प्रकाश थापाको सांगीतिक यात्रा केवल एउटा गायकको यात्रा होइन। यो सुदूरको एउटा सामान्य गाउँबाट जन्मिएको सपना हो,अभावसँग जुध्दै हुर्किएको आत्मविश्वास हो, संघर्षका बीच निरन्तरताले बलियो बनाएको संकल्प हो र आफ्नो माटो, भाषा तथा संस्कृतिप्रतिको गहिरो प्रेमको कथा हो। उनले देउडा, ठाडी भाका र आफ्नो मौलिक संस्कृतिलाई देशका विभिन्न ठाउँसम्म पुर्‍याउँदै आएका छन्। आज पनि उनी निरन्तर गाइरहेका छन्, शब्दलाई प्राण दिइरहेका छन्, गीतलाई जीवन्त बनाइरहेका छन् र नयाँ पुस्ताका प्रतिभालाई हौसला दिइरहेका छन्। 

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

२०५७ साल देखी निरन्तर चर्चाको शिखरमा रहेका थापा को हुन् ?

काठमाडौं : देउडा गायक भन्नेबित्तिकै धेरैले सबैभन्दा पहिले उच्चारण गर्ने नाम हो—कोकिलकण्ठी स्वरका धनी प्रकाश थापा। उनी हरेक देउडा पारखीको मन–मुटुमा बसेका छन्। देउडा संगीतको चर्चा हुँदा प्रकाशको नाम सबैभन्दा अघि आउँछ। उमेरले ४१ वर्षका प्रकाश बाजुराको बडीमालिका नगरपालिका–८, मार्तडीमा २०४२ साल पुस ११ गते जन्मिएका हुन्। स्वर्गीय पिता जयवीरे थापा र आमा खिरीदेवी थापाको कोखबाट जन्मिएका थापा अहिले सांगीतिक बजारमा लोकप्रिय देउडा गायकका रूपमा चिरपरिचित छन्।

सामान्य किसान परिवारमा जन्मिएका प्रकाशले आफ्नो नाम यति ठूलो उचाइमा पुग्ला भनेर सायदै कल्पना गरेका थिए। आफ्नो आवाज देशका कुनाकाप्चासम्म पुग्ला र हजारौँ श्रोता उनका गीतमा आफ्ना दुःख, सुख, प्रेम, विरह र माटोको कथा खोज्लान् भनेर सोचेका समेत थिएनन् । आखिर भाग्य कतिबेला चम्किन्छ, कसलाई थाहा हुन्छ र? बाजुराको दुर्गम माटोमा जन्मिएका प्रकाशले आफ्नो नामजस्तै सांगीतिक यात्रामा उज्यालो छर्न सफल भएका छन्। शब्दलाई प्राण दिने, शब्दप्रति न्याय गर्ने र शब्दको सागरमा डुबेर गीतलाई नयाँ आयाम दिने उनी बहुप्रतिभाशाली कलाकार हुन्। नेपाली सांगीतिक आकाशमा एउटा चम्किलो ताराझैँ उदाएका प्रकाश आरोह–अवरोहका अनेकौँ घुम्ती पार गर्दै आज पनि निरन्तर आफ्नो सांगीतिक यात्रामा अघि बढिरहेका छन्।

थापाको बाल्यकाल र संगीतप्रतिको मोह:

तीन भाइमध्ये कान्छा प्रकाशको बाल्यकाल गाउँमै बित्यो। गाउँकै विद्यालयमा अध्ययन गर्दै उनले लेख–औल, मेलापात र गाई–बाख्रा गोठालो गर्दै आफ्नो बाल्यकाल बिताए। सामान्य पारिवारिक परिवेशबाट हुर्किएका उनले स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन्।सानैदेखि उनलाई गीत गाउन निकै रुचि थियो। उनी एक्लै हुँदा पनि गीत गुनगुनाइरहन्थे। रेडियो नेपालबाट बज्ने लोकगीत तथा देउडा गीत सुन्ने र निगालोको बाँसुरी बजाउने उनको रुचि थियो। अग्रज स्रष्टाका गीतहरू सुन्दै–गुनगुनाउँदै उनी संगीततर्फ थप आकर्षित हुँदै गए।

उनी स्वयं सम्झिन्छन्, “सानो हुँदा रेडियो सुन्ने, रेडियो नेपालबाट आउने विभिन्न लोकगीत, देउडा गीत सुन्ने, निगालोको बाँसुरी बजाउँथेँ। योसँगै विभिन्न अग्रज स्रष्टाका गीतहरू गुनगुनाउँथेँ। यसले थप संगीततर्फ प्रेरित गरिरह्यो।”कलाकार बन्ने धोको मनमा थियो, तर पारिवारिक आर्थिक अवस्था त्यति बलियो थिएन। विद्यार्थी जीवनमै वनजंगल, मेलापात तथा विद्यालयमा गीत गाउँदा उनलाई सुन्नेहरूले हौसला दिन्थे। विस्तारै उनको गायन यात्रा घर, वनपाखा र मेलापातमा मात्रै सीमित रहेन। शुक्रबारीय कार्यक्रम, वार्षिकोत्सव, शिक्षा दिवस, नारी दिवस तथा जिल्ला र क्षेत्रीयस्तरका गायन–नृत्य प्रतियोगितामा समेत उनी सहभागी हुन थाले।

प्रतियोगितामा स्थान पाउन थालेपछि उनको आत्मविश्वास बढ्दै गयो। शिक्षकहरूको हौसला पनि उत्तिकै मिल्यो। कलाकार बन्ने योजना मनमा बलियो हुँदै गयो। प्रतिभा थियो, सपना थियो, कलाकार बन्ने हुटहुटी थियो, तर विडम्बना गीत रेकर्ड गर्न आवश्यक आर्थिक स्रोत भने परिवारबाट सहजै जुट्न सकेन। तर उनले हार मानेनन्। लक्ष्यबाट पछि हटेनन्। कहिँले पनि निराश भएनन् ।  संघर्ष, सपना, संकल्प, आत्मविश्वास र मनभित्रको हुटहुटीले बाधा–अड्चनका पर्खालहरू चिर्दै उनलाई अघि बढाइरह्यो।

यसरी सुरु भयो औपचारिक सांगीतिक यात्रा:

जीवनका अनेकन चुनौतीहरू पार गर्दै गीत रेकर्ड गर्न आवश्यक स्रोत जुटाएपछि प्रकाशको यात्रा गाउँ र विद्यालयको सीमाबाट बाहिर निस्कियो। २०५७ सालमा ‘सुदूरपश्चिम विकटै भएनी, सम्झना छ मै मरी गएनी’ नामक देउडा गीतमार्फत उनको औपचारिक सांगीतिक यात्रा सुरु भयो। उनी सम्झिन्छन्,“मंसिर १८ गते रम्भा डिजिटल रेकर्डिङ स्टुडियोमा ललिता रोकायाको साथमा पहिलो पटक गीत रेकर्ड गरेको थिएँ। पहिलो गीत रेकर्ड गर्दा मालिका सांस्कृतिक कला केन्द्रका अध्यक्ष, मेरा सांगीतिक गुरु बिन्देश्वर थापा, एरेन्जर वीरु राना मगर, शंकर बोहरालाई सम्झिन चाहन्छु। उहाँहरूको सहयोगले पहिलो गीत रेकर्ड भयो। यो मेरो जीवनकै सबैभन्दा ठूलो खुसी थियो।”

२०५८ सालमा साहित्यकार तथा गीतकार राजेन्द्र शाह ‘विपी’सँग उनको भेट भयो। त्यसपछि राजेन्द्र शाह ‘विपी’का लय र शब्द तथा प्रकाश थापाको आवाजमा गीत बजाउनमा आउने श्रृंखला आजसम्म निरन्तर छ। त्यहीँ सहकार्यले थापाको सांगीतिक यात्रालाई नयाँ उचाई तर्फ लैजान थाल्यो । शाहको लय–शब्द र थापाको आवाजलाई दर्शक–श्रोताले पनि उत्तिकै रुचाए। २०५८ सालदेखि निरन्तर दर्शक–श्रोताको माया पाउँदै आएका प्रकाशले ‘सुदूरपश्चिम विकटै भएनी’देखि ‘शिर्क्या रुमाल’सम्म आइपुग्दा आफ्नो दर्शकको संख्या निरन्तर बढाउँदै आएका छन् । 

झन्डै तीन दशकभन्दा लामो सांगीतिक यात्रामा उनले लोकगीत, देउडा, ठाडी भाका र दोहोरी गरी करिब ८/९ सयभन्दा बढी गीतमा आवाज दिएका छन्। ‘मान्छेको परानी करकली पातको पानी’, ‘आगो सल्किगयो’, ‘गंगीका किनार’, ‘पहेँली धानका बाला’, ‘शिवरात्रि मेला’, ‘बासनपुरी धान’, ‘सेती महाकाली’ लगायत उनका गीतहरू दर्शक–श्रोतामाझ चर्चित छन्।

यी हुन् दर्शकले अत्यधिक रुचाएका गीतहरू:

प्रकाश थापाका दर्जनौँ गीत चर्चित छन्। उनका अधिकांश गीत आज पनि सदाबहार सुनिन्छन्। सुदूरपश्चिमको भाषा, संस्कृति बोल्ने, सुन्ने र हेर्ने दर्शकको संख्या तुलनात्मक रूपमा सीमित भए पनि ‘रेल गाडी लेट भयो’ गीतले युट्युबमा १ करोडभन्दा बढी भ्युज पाएको छ। त्यस्तै, ‘पहेँली धानका बाला’, ‘तारा मधुराई छन्’, ‘डाँफ्या हिमालैमा’, ‘रेल गाडी लेट भयो’, ‘छम्केली बौजु’, ‘दर्शन पाया बल्ल’, ‘लै लै’, ‘बोममैना बोलिजा’ लगायत तीन दर्जनभन्दा बढी गीतले १० लाखभन्दा बढी दर्शलले हेरका  छन्।

२०५७ सालतिर जति लोकप्रिय उनका गीत थिए, आज पनि दर्शक–श्रोतामाझ ती गीतको आकर्षण उस्तै देखिन्छ। क्षणिक रूपमा भाइरल हुने गीतभन्दा फरक, उनका गीतहरू समयसँगै श्रोताको मनमा बसिरहेका छन्। जुनसुकै गीतमा पनि दर्शकको माया पाउँदै आएका थापाको चर्चा निरन्तर रहँदै आएको छ। यसैले उनी लोक तथा देउडा गायकका रूपमा सुदूरपश्चिममा स्थापित नाम बनेका छन्।उनको विशेषता एउटा गीतबाट क्षणिक चर्चा बटुलेर हराउने कलाकारको जस्तो छैन। दशकौँअघि गाएका गीत आज पनि उत्तिकै सुनिन्छन् र नयाँ पुस्ताले समेत उनका गीतलाई उत्तिकै रुचाउँछन् । 

पेशाले शिक्षक, मनले गायक: 

प्रकाश थापा पेशाले शिक्षक हुन्। तर संगीतप्रतिको उनको लगावमा कहिल्यै कमी आएन। पछिल्लो समय ‘बिरशपती तारा’, ‘बाजुरा बैकुण्ठ रैछ’, ‘रुन्या मन बुझाई जा’ लगायत गीत पनि चर्चित छन्। उनी देउडा र ठाडी भाकामा मात्रै सीमित छैनन्, अन्य विधाका गीतमा पनि आफ्नो स्वर दिएका छन्। कतिपय गीतमा स्वर मात्रै होइन, लय र शब्दमा समेत उनी स्वयमले गरेका छन् ।  त्यसैले उनको परिचय गायक र शिक्षकमा मात्रै सीमित छैन। उनी गायक, सर्जक, संगीतकार, नृत्यकार तथा विभिन्न विधामा विज्ञता हासिल गरेका बहुप्रतिभावान व्यक्तिका रूपमा समेत परिचित छन्।

बहुप्रतिभा भएर पनि उनको स्वभावमा त्यसको कुनै दम्भ देखिँदैन। सरल स्वभाव, मृदुभाषी व्यवहार र सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने उनको व्यक्तित्वले उनलाई दर्शक–श्रोतामाझ अझ आत्मीय बनाएको छ। उनको कला मात्रै होइन, सरलता र विनम्रताले पनि धेरैलाई प्रभावित गरेको पाइन्छ।हाल उनी बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा शिक्षकका रूपमा कार्यरत छन्। समय मिलाएर काठमाडौं झरेर गीत रेकर्ड गर्ने गरेका छन्।


कलाकारितालाई पूर्णरूपमा पेशा बनाउन नसक्नु र त्यसमा पर्याप्त समय दिन नसक्नु आफ्नो कमजोरी भएको उनी स्वीकार गर्छन्। आर्थिक रूपमा कलाकारिताबाट ठूलो आम्दानी गर्न नसके पनि दर्शकको माया नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ। उनी भन्छन्, “मैले कलाकारितालाई पेसाका रूपमा ग्रहण गर्न सकिनँ, पैसा कमाउन सकिनँ होला, तर दर्शकहरूको अपार माया, साथ, हौसला नै मेरो सम्पत्ति हो। यसैमा खुसी छु, यसैलाई मेरो सांगीतिक जीवनको सफलता ठान्छु।”

सांगीतिक यात्राका कठिन समयमा साथ र हौसला दिने व्यक्तिहरूमा बिन्देश्वर थापा, राजेन्द्र शाह ‘विपी’, विनोद बाजुराली, नरेन्द्रराज रेग्मी र हर्क खडायतलगायतलाई थापा सम्झिन्छन्।अग्रजप्रति सम्मान, सहकर्मीप्रति आत्मीयता र नवप्रतिभाप्रति हार्दिकता प्रकाशको अर्को विशेषता हो। उनी देउडा संस्कृतिको संरक्षण, जगेर्ना र नयाँ प्रतिभाको विकासका लागि पनि निरन्तर सक्रिय छन्। दर्शक–श्रोताबाट निरन्तर साथ, माया र हौसला पाइरहने अपेक्षा राख्ने उनी नवप्रतिभालाई देउडाको मौलिक भाव नबिगारी गीत गाउन र लेख्न सुझाव दिन्छन्। उनका लागि कलाकारको सबैभन्दा ठूलो सम्पत्ति दर्शक–श्रोताको माया र हौसला नै हो।

पुरस्कार तथा सम्मान: 
झन्डै तीन दशक लामो सांगीतिक यात्रामा प्रकाश थापाले दर्शक–श्रोताको माया मात्रै होइन, आफ्नो सांगीतिक योगदानको कदरस्वरूप विभिन्न तहबाट सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन्। उनको सांगीतिक योगदानको मूल्यांकन गर्दै विभिन्न स्थानीय तहबाट सम्मानित भएका छन् भने देशका सयौँ मेला–महोत्सवबाट समेत सम्मान प्राप्त गरेका छन्। सुदूरपश्चिमको लोक तथा देउडा संगीतमा उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारबाट प्रदान गरिने २०८२ सालको उत्कृष्ट संगीत विधातर्फको प्रादेशिक पुरस्कारबाट समेत उनी सम्मानित भएका छन्। सामान्य किसान परिवारबाट सुरु भएको उनको सांगीतिक यात्रा स्थानीय मेला–महोत्सवको सम्मान हुँदै राज्यस्तरको पुरस्कारसम्म पुग्नु उनको निरन्तर साधना, योगदान र सांगीतिक यात्राको महत्त्वपूर्ण उपलब्धि हो। दर्शकको मनमा बसेको स्वरले स्थानीय तहदेखि राज्यस्तरको सम्मानसम्मको यात्रा तय गर्नु प्रकाश थापाको सांगीतिक जीवनको अर्को महत्त्वपूर्ण अध्याय हो।

जहाँ प्रकाश पुग्छन्, त्यहाँ दर्शकको घुइँचो: 

मेला–महोत्सवमा प्रकाश थापाको उपस्थितिले छुट्टै रौनक थपिन्छ। जिल्लाका विभिन्न महोत्सवमा उनको प्रस्तुतिको दिन भीड थेगिनसक्नु हुन्छ। उनको आवाज सुन्न र देउडा खेल्न दर्शकहरूमा अत्यधिक रुचि देखिन्छ। जहाँ उनी स्टेजमा उक्लिन्छन्, त्यहाँ दर्शकको भीड बढिहाल्छ। उनका मर्मस्पर्शी देउडा र ठाडी भाकाले कतिपय दर्शकका आँखा रसाउँछन्। देउडा पारखीहरू घरका काम थाती राखेर पनि उनको आवाज सुन्न पुग्छन्। उनका गीतले बाजुराली आमाबुवाका मनका पीडा र भावनालाई छुने गर्छन्। विगतका विभिन्न महोत्सवमा उनको प्रस्तुतिका क्रममा देखिएको बाक्लो उपस्थितिले पनि उनको लोकप्रियता झल्काउँछ।

जसका गीतहरूले मनोरञ्जन मात्रै दिँदैनन्, दुःख भुलाउँछन्: 

प्रकाश थापा ‘सुदूरपश्चिमको देउडा गीतका राजा’ भनेर चिनिने नाम हुन्। उनी सुदूरको सान, बाजुराको पहिचान र सुदूरवासीको मन–मुटुको ढुकढुकी बनेका छन्। उनको जादुमय स्वरले गीतलाई केवल गीतमा सीमित राख्दैन। उनी अरूका दुःखका सारथि बनेका छन्। उनका गीत सुनेर धेरैले आफ्नो दुःख केहीबेर भुल्ने गर्छन्। बुढापाका देउडा पारखीको रोजाइमा उनका गीत अझै पनि पर्छन्। विशेषगरी उनका ठाडी भाका सुन्दा कतिपयका आँखा रसाउँछन्।

के भन्छन् त थापाका प्रशंसकहरू?


कर्ण खप्तड छेडेदह गाउँपालिका–३ का ६७ वर्षीय स्थानीय हुन्। उनी प्रकाश थापाका गीत सुन्दासुन्दै आफू बूढो भएको बताउँछन्। रेडियो कहिल्यै नछाड्ने उनका लागि प्रकाश अत्यन्त मन पर्ने गायक हुन्।
उनी भन्छन्, “कलाकार धेरै होलान्, गीत जति गाउलान्, तैपनि प्रकाश थापा जत्तिकै गायक अरू छैनन्। प्रकाशको स्वरमै जादु छ। म प्रायः अरूका गीत नै सुन्दिनँ, प्रकाशका गीतहरू पुराना र नयाँ उत्तिकै मन पर्छन्।”

त्यस्तै, खप्तड छेडेदह गाउँपालिका–३ कै ७० वर्ष नाघेकी हिमा खड्का पनि प्रकाशका गीतकी पारखी हुन्। मोबाइलमा प्रकाशका पुराना तथा नयाँ गीतहरू राखेर सुन्ने उनी मोबाइल चलाउन त्यति जान्दिनन्। बजार जानेहरूले आफ्ना लागि प्रकाशका गीत हालेर ल्याइदिनुपर्ने उनी बताउँछिन्। उनी आफ्नै स्थानीय भाषामा भन्छिन्, “प्रकाश थापा खुब राम्ररी गाउँदा, बन गएपछि अमन (न्यास्रो) लागेपछि यही गीत सुन्दो। जति सुन्यापन (सुने पनि) धित मर्दैन।” कर्ण र हिमा प्रतिनिधि पात्र मात्रै हुन्। सुदूरपश्चिम तथा मध्यपश्चिमका वनपाखा, घाँस–दाउरा, स्याउला र गोठालो जानेहरूका ओठमा पनि प्रकाशका गीतहरू गुन्जिरहेका हुन्छन्।

उनका पुराना ठाडी भाका ‘मान्छेको परानी’, ‘कन लायो आयो’, ‘कै पुल्ती मार्या हौँ’, ‘बासनपुरी धान’, ‘डाँफे हिमालैमा’ लगायत गीतले जंगलमा घाँस काट्ने आमाहरू र दाउरा चिर्ने बुवाहरूलाई एक्लोपन महसुस हुन दिँदैनन्। उनका गीत दुःखमा मात्रै होइन, सुख र रमाइलोका क्षणमा पनि उत्तिकै सुनिन्छन्।

नयाँ पुस्तामा पनि उत्तिकै लोकप्रिय थापा, कलाकार बन्छु भन्नेका लागि प्रेरणाको स्रोत:

प्रकाश थापा पुरानो पुस्ताका मात्रै होइन, नयाँ पुस्ताका लागि पनि उत्तिकै प्रिय छन्। बाजुराका तथा हाल काठमाडौंमा अध्ययनरत रतन बुढा आफू प्रकाश थापाको ठूलो प्रशंसक (फ्यान ) भएको बताउँछन्। उनी भन्छन्, “गायक होस् त प्रकाश थापा दाइ जस्तो, जो सदावहार दर्शकहरूमा लोकप्रिय छन्—नयाँ पुस्तामा पनि, पुरानामा पनि। उहाँका पुराना गीतहरू धेरै मन पर्थे मलाई। बालापनमा हुँदा नै मन पर्ने गायक हो उहाँ। उहाँको स्वरको त सम्राट हुनुहुन्छ नै, त्योभन्दा अर्को पक्ष उहाँ यति धेरै दर्शकहरूले माया गर्दा पनि उहाँ उस्तै सरल स्वभावको हुनुहुन्छ। कलाकारहरूमा एक–दुईवटा गीत चल्यो भने घमण्ड बढ्न थाल्छ, तर प्रकाश दाइ सधैँ एकनासो हुनुहुन्छ।”


नयाँ पुस्तामा देउडाप्रतिको आकर्षण घट्दै जानु र यसको संरक्षण चुनौतीपूर्ण बन्दै जानुका बीच प्रकाशका गीतहरूले भने नयाँ पुस्तालाई पनि देउडासँग जोडिरहेका छन्। देउडा मन नपराउनेहरूले समेत उनको स्वरका कारण उनका गीत सुन्ने गरेका छन्। उनको स्वरले सुदूरपश्चिम र कर्णालीको देउडा संस्कृतिलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। नयाँ प्रतिभालाई स्थान दिने, प्रेरणा दिने र सहकार्य गर्ने मामिलामा पनि प्रकाश अगाडि छन्। चन्द्रा न्यौपाने, त्रिवेणी नगरपालिका–१, छतराकी हुन्। प्रकाश थापासँग गीत सार्वजनिक गर्ने अवसर पाएकी उनी आफूलाई भाग्यमानी ठान्छिन्।

उनी भन्छिन्, “प्रकाश दाइसँग गाउन पाउनु नै मेरा लागि सौभाग्य हो। उहाँ चलेको गायक, म भर्खरै सिक्दै थिएँ, तर उहाँले मलाई साथ–सहयोग गर्नुभयो र मेरो गीत गाउने सपना पूरा भयो। उहाँको प्रशंसा जति गरे पनि कमै हुन्छ। अरूजस्तो घमण्ड भएको कलाकार भए भर्खरकोसँग म गाउँदिनँ पनि भन्थे होलान्, तर दाइले मलाई आफ्नै बहिनी सम्झेर सहयोग गर्नुभयो।” चन्द्रा एक प्रतिनिधि पात्र मात्रै हुन्। प्रकाशले धेरै नयाँ प्रतिभालाई गीत गाउने अवसर, हौसला र सहकार्य प्रदान गरेका छन्। त्यस्तै राजेन्द्र बाजुराली पनि प्रकाश थापाबाट प्रेरित छन्। उनी भन्छन्, “मेरो गुरु भनेकै आदरणीय सर प्रकाश थापा हुनुहुन्छ। उहाँले गर्दा म आज यो स्थानमा छु।”

स्रष्टाहरूको नजरमा प्रकाश थापा : 

साहित्यकार तथा गीतकार राजेन्द्र शाह ‘विपी’ प्रकाश थापालाई एक स्वाभिमानी, अनुशासित र निष्ठावान कलाकारका रूपमा चित्रण गर्छन्। उनका शब्दमा, “प्रकाश एक स्वाभिमानी, अनुशासित एवम् निष्ठावान कलाकार हुन्। शालीन, सौम्य, सिर्जनशील एवम् बौद्धिक, बहुमुखी प्रतिभा र सुमधुर स्वरका धनी हुन्।”
प्रकाशले राजेन्द्र शाह ‘विपी’का धेरै गीतमा स्वर दिएका छन्। शाहका लागि उनी मनपर्ने गायक मात्रै होइनन्, सुख–दुःखका साथीसमेत हुन्।

त्यस्तै गायक तथा स्रष्टा समेत रहेका अधिवक्ता  हर्क खडायतले पनि प्रकाश थापाका गीतहरू निरन्तर शेयर गर्दै आएका छन्। उनले त “प्रकाश थापा गीत गाउनकै लागि जन्मिएका हुन्” समेत भनेर बेला बेला आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्छन् । हर्क खडायत स्वयं पनि गायक हुन्। प्रकाशको सुमधुर स्वरले बाजुरालाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको खडायतको बुझाइ छ। उनी भन्छन्, “प्रकाश गायक मात्रै होलान्, उनी सिङ्गो सुदूरपश्चिमको सान हुन्, गौरव हुन्, जसको आवाजले बाजुरालाई चिनाएको छ।” प्रकाश थापाको बहुआयामिक प्रतिभालाई शब्दमा समेट्न सहज छैन। उनको सांगीतिक योगदान र निरन्तरतालाई एउटै परिचयले बाँध्न पनि सकिँदैन।


 बाजुराको माटो र कलाकारिताको यात्रा : 

बाजुरा कलाकार जन्माउने माटो हो। यहाँबाट नेपाली साहित्य, कला र संगीतमा योगदान दिने धेरै स्रष्टाहरू जन्मिएका छन्। अझै पनि दर्जनौँ प्रतिभा संघर्षरत छन्। तर सबैले आफ्नो कलायात्रालाई निरन्तरता दिन सक्ने अवस्था छैन।नयाँ प्रतिभाका लागि आफ्नो स्थान बनाउन सहज छैन। यही कठिन बाटोमा प्रकाश थापाले भने तीन दशकभन्दा बढी समय बिताइसकेका छन्। उनको लोकप्रियतामा समयसँगै उतार–चढाव आए पनि दर्शक–श्रोतासँगको सम्बन्ध कहिल्यै टुटेन।

सामान्य किसान परिवारमा जन्मिएको एउटा बालकको कलाकार बन्ने सपना आज सुदूरपश्चिमको सांगीतिक यात्रासँग जोडिएको छ। वनपाखा, मेलापात र विद्यालयबाट सुरु भएको उनको स्वरयात्रा आज मेला–महोत्सव हुँदै सांगीतिक बजार र डिजिटल प्लेटफर्मसम्म पुगेको छ। कुनै समय एउटा गीत रेकर्ड गर्न आवश्यक पैसा जुटाउन संघर्ष गर्नुपरेको प्रकाशको हातमा आज दर्शक–श्रोताको अपार माया छ। उनका लागि सांगीतिक सफलता केवल पैसाले मापन हुने विषय होइन। दर्शकको माया, साथ र हौसला नै उनको सबैभन्दा ठूलो धन हो।


त्यसैले प्रकाश थापाको सांगीतिक यात्रा केवल एउटा गायकको यात्रा होइन। यो सुदूरको एउटा सामान्य गाउँबाट जन्मिएको सपना हो, अभावसँग जुध्दै हुर्किएको आत्मविश्वास हो, संघर्षका बीच निरन्तरताले बलियो बनाएको संकल्प हो र आफ्नो माटो, भाषा तथा संस्कृतिप्रतिको गहिरो प्रेमको कथा हो। उनले देउडा, ठाडी भाका र आफ्नो मौलिक संस्कृतिलाई देशका विभिन्न ठाउँसम्म पुर्‍याउँदै आएका छन्।

आज पनि उनी निरन्तर गाइरहेका छन्, शब्दलाई प्राण दिइरहेका छन्, गीतलाई जीवन्त बनाइरहेका छन् र नयाँ पुस्ताका प्रतिभालाई हौसला दिइरहेका छन्। बाजुराको माटोबाट जन्मिएको त्यो स्वर आज सुदूरपश्चिमको सीमामा मात्र सीमित छैन। हजारौँ–लाखौँ दर्शक–श्रोताको मनमा बसेको छ। नाम प्रकाश—र सांगीतिक यात्रामा पनि निरन्तर उज्यालो छरिरहेका छन् प्रकाश थापा।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।