लालबहादुर थापा एउटा सफल गायकको नाम मात्र होइन, सुदूरपश्चिमको मौलिक लोकसंस्कृति जोगाउने अथक अभियन्ता, बाजुराली कलाकारहरूको अभिभावक र नयाँ पुस्ताका लागि प्रेरणाको जीवित स्रोत हुन्। उनका गीतहरूमा केवल लय र शब्द मात्रै छैनन्, सिङ्गो सुदूरपश्चिमको संस्कृति, इतिहास, संघर्ष र जनजीवनको आत्मा बोलिरहेको छ। यही कारण नेपाली लोकदेउडा संगीतको इतिहास लेखिँदा लालबहादुर थापाको नाम सम्मानका साथ सधैँ स्मरण गरिनेछ।
नेपाली लोकदेउडा संगीतमा इतिहास रचेका थापाको कहालीलाग्दो प्रेणादायी जीवनयात्रा
काठमाडौं : भनिन्छ, हरेक मानिसमा कुनै न कुनै विशेष क्षमता अवश्य हुन्छ। तर एउटै व्यक्तिमा अनेकौं असाधारण प्रतिभा हुनु निकै दुर्लभ कुरा हो। यस्ता अदभूत क्षमता भएका बहुप्रतिभाशाली व्यक्तिहरु विरलै भेटिन्छन् । नेपाली गीत–संगीत क्षेत्रमा यस्तै बहुप्रतिभाशाली व्यक्तित्व हुन् लालबहादुर थापा। उनी केवल गायक मात्र होइनन्, एक कुशल गीतकार, संगीतकार, वाद्यवादक तथा मौलिक लोकसंस्कृतिका अथक साधक पनि हुन्। आफ्ना अधिकांश गीतमा उनी स्वयं शब्द लेख्छन्, संगीत भर्छन्, स्वर दिन्छन् र आवश्यक वाद्यवादनसमेत आफैं गर्छन्। यही बहुआयामिक प्रतिभाले उनलाई नेपाली लोकसंगीतमा विशिष्ट स्थान दिलाएको छ।
सुदूरपश्चिम र कर्णाली क्षेत्रका अग्रज देउडा गायक, सर्जक तथा मौलिक कलाकारका रूपमा परिचित लालबहादुर थापाले विशेषगरी बाजुरा जिल्लाको कला, संस्कृति र सांगीतिक पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउन अतुलनीय योगदान दिएका छन्। सुदूरपश्चिममा उनी प्रेमपूर्वक समधुर स्वरका धनी’ भनेर चिनिन्छन्।थापाले सयौं मौलिक देउडा तथा ठाडीभाका गीतमा शब्द, संगीत र स्वर दिएर नेपाली लोकसंगीतलाई समृद्ध बनाएका छन्। उनका गीतमा सुदूरपश्चिम र कर्णालीको भाषा, संस्कृति, रीतिरिवाज, भेषभूषा, जनजीवन, प्रेम, पीडा, संघर्ष र सामाजिक यथार्थ जीवन्त रूपमा अभिव्यक्त भएका छन्। आज पनि उनका गीतहरू सुदूरपश्चिम र कर्णालीका बनपाखा, मेलापात, खेतबारी र सांस्कृतिक एवम् पारिवारिक उत्सवहरूमा उत्तिकै गुञ्जिरहन्छन् ।
उनले आफ्नो सम्पूर्ण जीवन सुदूरपश्चिमेली कला, संस्कृति र मौलिकतालाई जोगाउन तथा नयाँ पुस्तासम्म पुर्याउन समर्पित गरेका छन्। थापाले हार्मोनिय, मादल,तबला,ढोलक,बाँसुरी,किबोर्ड,खैजडी र दमाहा का साथै गिटार सम्बन्धि सामान्य ज्ञान भएको र सयौं गीत एरेन्ज गर्नुको साथै थुप्रै गीतहरुमा मोडलिङ तथा अभिनय समेत गरेका छन् ।आफै गीत लेख्ने आफै सङ्गीत भर्ने,आफै एरेन्ज गर्ने ,आफै गाउने,आफै बजाउने र आफै अभिनय गर्ने अदभूत क्षमता भएका बिरलै भेटिने कलाकार मध्य एक हुन् थापा
अभावबीच हुर्किएका थापाको बाल्यकाल कसरी बित्यो ?
लालबहादुर थापाको जन्म वि.सं. २०३२ सालमा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–२, ताप्रामा आमा जवा देवी थापा र बुवा सेतु थापाको कान्छो सन्तानका रूपमा भयो। विकट भौगोलिक परिवेश र गरिबीले पिल्सिएको परिवारमा जन्मिएका थापाको बाल्यकाल गाउँमै बित्यो।बाल्यकालका दिन सम्झँदै उनी भन्छन्,
"मेरो बाल्यकाल थुप्रै आरोहअवरोहका बीच गुज्रिएको थियो, निम्न बर्गिय पारिवारिक पृष्ठभुमि थियो,घरको आर्थिक अवस्था कमजोर थियो,मेरो बाल्यकाल अभावमै बित्यो।"
उनले गाउँकै पशुपति माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरे। सानैदेखि उनी गीत–संगीतप्रति असाध्यै आकर्षित थिए। करिब कक्षा ६ मा अध्ययन गर्दै गर्दा उनले गीत गाउन सुरु गरिसकेका थिए। तर त्यो समय गीत गाउनु सहज कुरा थिएन।त्यतिबेला समाजमा गीत गाउने र नाच्ने काम त वादी समुदायले मात्रै गर्ने हो भन्ने गलत र विभेदपूर्ण मानसिकता गहिरोसँग जरा गाडेर बसेको थियो। यही संकीर्ण सोचको सिकार लालबहादुर थापा आफ्नै परिवारबाट समेत बने। उनी गीत गाउँदा बुवा–आमाले गाली गर्नुहुन्थ्यो। छालाबाट बनेको मादल घरभित्र ल्याउनसमेत दिइँदैनथ्यो। गाउँलेहरूले पनि "गीत गाउने–नाच्ने काम त वादीले गर्ने हो" भन्दै उनलाई होच्याउने गर्थे।
तर यी सबै अपमान, तिरस्कार र सामाजिक विभेदका बीच पनि थापाको संगीतप्रतिको मोह कहिल्यै कमजोर भएन। बरु प्रत्येक आलोचनाले उनको सङ्कल्पलाई अझ बलियो बनायो। घरको मुज्यालोमा भाँडाकुँडालाई मादल बनाएर गीत गुनगुनाउनु उनको दैनिकीजस्तै थियो। संगीतप्रतिको उनको रुचि देखेर कतिपय गाउँलेले भने भविष्यमा उनी राम्रो गायक बन्ने विश्वास व्यक्त गर्थे। त्यही हौसलाले उनलाई निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो।
कलाकार बन्ने सपना देखेका थापाका लागि आर्थिक अवस्था सबैभन्दा ठूलो चुनौती थियो। परिवारको कमजोर आर्थिक अवस्थाले उनको चाहनालाई साथ दिन सक्ने अवस्था थिएन। तर उनले आफ्नो सपना कहिल्यै त्यागेनन्। बरु दिनप्रतिदिन संगीतप्रतिको समर्पण अझ गहिरिँदै गयो। अभाव, सामाजिक विभेद र पारिवारिक दबाबलाई चुनौती दिँदै उनले मनमनै एउटा अठोट गरेका थिए। एक दिन गीत–संगीतकै माध्यमबाट आफूलाई स्थापित गर्ने।
पहिलो सफलता, गुरुहरूको साथ र कलाकार बन्ने अठोट:
अभावै अभावका बीच गुज्रिएको बाल्यकालमा पनि लालबहादुर थापाको संगीतप्रतिको मोह कहिल्यै कम भएन। उनी कक्षा ३ मा अध्ययनरत हुँदादेखि नै घरको मुज्यालोमा भाँडाकुँडालाई मादलको रूपमा प्रयोग गर्दै गीत गुनगुनाउने गर्थे। संगीत उनको रहर मात्र थिएन, त्यो त उनको जीवनको अभिन्न हिस्सा बन्दै गएको थियो।२०४५ सालतिर आइपुग्दा उनी बाल्यकालमै मादल बजाउन सिकिसकेका थिए। त्यसबेला औपचारिक रूपमा संगीत सिक्ने कुनै वातावरण थिएन। तर आफ्नै रुचि, निरन्तर अभ्यास र आत्मविश्वासका कारण उनी विस्तारै गीत–संगीतमा पोख्त हुँदै गए।
२०४६ सालको जनआन्दोलनपछि देशमा प्रजातन्त्र पुनःस्थापित भयो। त्यससँगै गाउँ–समाजको सोचमा पनि केही परिवर्तन आउन थाल्यो। पहिले जस्तो गीत गाउने र नाच्नेप्रति हेर्ने दृष्टिकोण केही सकारात्मक बन्दै गयो। यही परिवेशले थापालाई सार्वजनिक रूपमा गीत गाउने अवसर पनि प्रदान गर्यो।त्यसपछि उनी जिल्लामा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रम तथा विद्यालयस्तरीय गायन प्रतियोगिताहरूमा नियमित सहभागी हुन थाले। प्रत्येक कार्यक्रममा उनको स्वरले दर्शकको मन जित्थ्यो। उनीभित्रको कलाकार विस्तारै बाजुराभर परिचित हुँदै गइरहेको थियो।
उनको सांगीतिक जीवनको पहिलो ठूलो उपलब्धि वि.सं. २०४७ सालमा प्राप्त भयो। बाजुरा सदरमुकाममा आयोजित विद्यालयस्तरीय गायन प्रतियोगितामा सहभागी भएका थापा प्रथम भए। यो सफलता उनको पहिलो सफलता थियो । त्यो सफलता थापाका लागि एउटा पुरस्कार मात्र थिएन, बरु जीवनको नयाँ मोड थियो।उनी आज पनि त्यो क्षणलाई आफ्नो सांगीतिक यात्राको पहिलो गौरवपूर्ण उपलब्धिका रूपमा सम्झन्छन्। यही सफलताले उनलाई कलाकार बन्ने आत्मविश्वास दियो। विद्यालय जीवनमै उनलाई दुई जना शिक्षकको साथ र मार्गदर्शन प्राप्त भयो, जसले उनको सांगीतिक यात्रालाई नयाँ दिशा दियो।
सबैभन्दा पहिले सप्तरीबाट आएका शिक्षक उमाकान्त चौधरीसँग उनको भेट भयो। चौधरी नृत्यमा अब्बल थिए। उनी गीत पनि गाउँथे र संगीतमा रुचि राख्ने विद्यार्थीहरूलाई निरन्तर हौसला दिने गर्थे। थापा उनीबाट अत्यन्त प्रभावित भए। आज पनि उनी रमाकान्त चौधरीलाई आफ्नो विद्यालय जीवनको पहिलो सांगीतिक गुरु तथा प्रेरणादायी व्यक्तित्वका रूपमा सम्झन्छन्।पछि कक्षा ९ मा अध्ययन गरिरहेका बेला विद्यालयमा अर्का शिक्षक कुलप्रसाद खनाल सरुवा भएर आए। संगीतसम्बन्धी गहिरो ज्ञान भएका खनालले थापाको प्रतिभा चाँडै पहिचान गरे। उनकै मार्गदर्शनमा थापाले पहिलोपटक व्यवस्थित रूपमा हार्मोनियम, गितार र मादल बजाउन सिक्ने अवसर पाए।थापा भन्छन्, "यदि ती गुरुहरूको साथ र प्रेरणा नपाएको भए, सायद मेरो सांगीतिक यात्रा यति सहज हुने थिएन।"
२०५० सालतिर आइपुग्दा लालबहादुर थापा बाजुरा जिल्लाभर परिचित गायक बनिसकेका थिए। जिल्लामा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति अनिवार्यजस्तै हुन थालेको थियो। देउडा र ठाडीभाका गाउन उनी लोकप्रिय बन्दै गएका थिए। उनका गीत सुन्न दर्शकहरूको बाक्लो उपस्थिति हुन्थ्यो। त्यसबेलासम्म बाजुरामा 'गायक लालबहादुर थापा' भनेर चिन्नेहरूको संख्या उल्लेख्य भइसकेको थियो।त्यही वर्ष उनले एसएलसी परीक्षा उत्तीर्ण गरे। एसएलसीपछि उनको मनमा एउटा ठूलो सपना पलायो—अब गाउँमा मात्रै गीत गाएर पुग्दैन, आफ्नो स्वरलाई क्यासेटमार्फत देशभर पुर्याउनुपर्छ। त्यसका लागि राजधानी काठमाडौं पुगेर गीत रेकर्ड गराउने अठोट उनले गरिसकेका थिए।
तर सपना देख्नु जति सजिलो थियो, त्यसलाई पूरा गर्नु त्यति नै कठिन। आर्थिक अभाव अझै पनि उनको सबैभन्दा ठूलो बाधा थियो।थापा त्यो समय सम्झँदै भन्छन्,"त्यतिबेला एउटा गीत रेकर्ड गर्न करिब १४ हजार रुपैयाँ लाग्थ्यो। मलाई त १०० रुपैयाँ जुटाउन पनि धौधौ थियो। धनगढी वा अत्तरियामा स्टुडियो थिएन, काठमाडौं नै पुग्नुपर्थ्यो। स्टुडियोको खर्च जुटाउनु त परै जाओस्, काठमाडौं जाने–आउने खर्च जुटाउन पनि निकै संघर्ष गर्नुपर्यो।" तर उनी सपनाबाट पछि हटेनन्। बरु आर्थिक अभावसँग जुध्दै, अनेकौं कठिनाइ सहँदै उनले आफ्नो लक्ष्य पूरा गर्ने तयारीलाई निरन्तर अघि बढाइरहे।
पारिवारिक वियोग,पहिलो गीत रेकर्डसम्मको संघर्ष:
एसएलसी उत्तीर्ण गरेपछि लालबहादुर थापाले राजधानी काठमाडौं पुगेर आफ्नो पहिलो गीत रेकर्ड गर्ने सपना बुनेका थिए। तर सपना देख्न सजिलो भए पनि त्यसलाई पूरा गर्ने बाटो काँडाले भरिएको थियो। आर्थिक अभावले उनको प्रत्येक पाइला रोकिरहेको थियो। गीत रेकर्ड गर्न आवश्यक रकम जुटाउनु उनका लागि असम्भवजस्तै थियो। काठमाडौं पुग्न र स्टुडियोको खर्च जुटाउन उनले करिब एक वर्षभन्दा बढी समय संघर्ष गर्नुपर्यो।तर जीवनले उनलाई आर्थिक अभावभन्दा पनि ठूलो पीडा दिएर परीक्षा लिन थाल्यो।
वि.सं. २०५० सालमै उनले आफ्ना जन्मदाता बुवा सेतु थापालाई गुमाए। कलाकार बन्ने सपना देखिरहेका थापाका लागि यो जीवनकै पहिलो ठूलो बज्रपात थियो। बुवाको निधनको पीडाबाट परिवार अझै बाहिर निस्किन नपाउँदै अर्को पारिवारिक बज्रपात आईलाग्यो। केही समयमै उनले आमा समान मान्ने आफ्नी भाउजूलाई पनि गुमाउनुपर्यो। एकै वर्ष दुई–दुई जना अभिभावक गुमाउनु सामान्य घटना थिएन। परिवार शोकमा डुब्यो। थापाको मन पनि विछिप्त बन्यो। उनी आज पनि ती दिन सम्झँदा भावुक हुन्छन्।उनी भन्छन्,
"बुवा गुमाउनु भनेको मेरो लागि सबैथोक गुमाउनु थियो। त्यसको पीडा सेलाउन नपाउँदै आमा समान भाउजूलाई पनि गुमाएँ। समयले घाउ निको पार्नुभन्दा झन् नुनचुक छर्केजस्तो भयो।"
पारिवारिक वियोग, आर्थिक अभाव र भविष्यको अन्योलका बीच पनि उनले आफ्नो सपना भने मर्न दिएनन्। कलाकार बन्ने दृढ अठोट अझै बाँकी थियो।यसैबीच उनको विवाह पनि भयो। पारिवारिक जिम्मेवारी थपिँदै गयो। तर जीवनका कठिनाइहरूले उनको सङ्कल्पलाई कमजोर बनाउन सकेनन्।अन्ततः २०५१ सालको अन्त्यतिर उनले करिब २० हजार रुपैयाँ ऋण जुटाए। त्यो रकम उनको जीवनको सबैभन्दा ठूलो लगानी थियो। त्यही ऋण बोकेर उनी पहिलोपटक गीत रेकर्ड गर्ने उद्देश्यसहित राजधानी काठमाडौं पुगे।
काठमाडौं पुगेपछि उनको एउटा ठूलो इच्छा थियो—सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशीलाई भेट्ने। बाल्यकालदेखि नै उनका गीत सुन्दै हुर्किएका थापा उनलाई आफ्नो प्रेरणाको स्रोत मान्थे। गाउँबाट गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौं आएको कुरा उनले जोशीसमक्ष राखे।तर उनले अपेक्षा गरेको साथ र हौसला त्यहाँ पाएनन्।थापा सम्झिन्छन्,"मलाई लाग्थ्यो उहाँले हौसला दिनुहुन्छ। तर उहाँले कलाकार बन्न सजिलो छैन, तिमीले सक्दैनौ भन्नुभयो। उहाँका ती शब्दले मलाई धेरै निराश बनायो।" जुन व्यक्तिलाई भेटेर आत्मविश्वास बढ्ने आशा गरेका थिए, उनैबाट निराश हुनुपर्दा थापा निकै हतोत्साहित भए। अन्ततः गीत रेकर्ड नगरी नै काठमाडौंबाट फर्किने निर्णय गरे।काठमाडौंबाट फर्कंदै गर्दा उनी अत्तरिया पुगे। त्यहीँ उनको भेट अर्का वरिष्ठ कलाकार नरेन्द्रराज रेग्मीसँग भयो। जीवनको यात्रामा यो भेट निर्णायक साबित भयो।
थापाले आफ्ना गीत रेग्मीलाई सुनाए। उनको आवाज सुनेपछि रेग्मी निकै प्रभावित भए।थापा सम्झिन्छन्,"उहाँले भन्नुभयो—'यति राम्रो प्रतिभा भएको मान्छे बाजुरामै सीमित हुनु हुँदैन। मैले सक्ने जति सहयोग गर्छु।'"नरेन्द्रराज रेग्मीका ती शब्दले निराश भइसकेको मनमा फेरि आशाको दीप बालिदियो। हराएको आत्मविश्वास पुनः फर्कियो। उनले कलाकार बन्ने सपना फेरि एकपटक नयाँ जोशका साथ अघि बढाउने निर्णय गरे।तर समस्या फेरि उही थियो—गीत रेकर्ड गर्ने खर्च।आवश्यक रकम जुटाउन उनी रोजगारीका लागि दिल्ली पुगे। केही समयको मेहनतपछि उनले एउटा गीत रेकर्ड गर्न पुग्ने रकम जम्मा गरे। त्यसपछि फेरि काठमाडौं फर्किए।यसपटक उनको सपना अधुरो रहेन।
उनले पहिलोपटक नारायण रायमाझीको रिमा रेकर्डिङ स्टुडियोमा आफ्ना गीत रेकर्ड गराए। यही क्षणबाट लालबहादुर थापाको औपचारिक सांगीतिक यात्रा सुरु भयो।सुरुवातमा उनका छ वटा गीत रेकर्ड भए। ती गीतमा गायिका पवित्रा घर्ती मगर र देवा घर्ती मगरले पनि स्वरमा साथ दिएका थिए।वर्षौंसम्म मनभित्र गुम्सिएको कलाकार बन्ने सपना त्यो दिन पहिलोपटक यथार्थमा परिणत भयो। ऋण लिएर, दुःख सहेर, निराशा चिरेर र अनेकौं संघर्ष पार गर्दै उनले आफ्नो सांगीतिक यात्राको पहिलो खुड्किलो उक्ले।त्यो दिन केवल गीत रेकर्ड भएको दिन मात्र थिएन; त्यो दिन एउटा संघर्षशील युवकले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गर्ने यात्रामा औपचारिक पाइला चालेको ऐतिहासिक दिन थियो।
संघर्षबाट सफलतासम्म
नारायण रायमाझीको रिमा रेकर्डिङ स्टुडियोमा पहिलोपटक गीत रेकर्ड भएसँगै लालबहादुर थापाको सांगीतिक यात्राले औपचारिक गति लियो। ऋण गरेर निकालेको पहिलो क्यासेटले उनीभित्र लुकेको कलाकारलाई श्रोतामाझ चिनाउने आधार तयार गर्यो। आर्थिक अभाव, पारिवारिक पीडा र अनेकौं चुनौतीका बीच सुरु भएको यात्रा अब विस्तारै सफलताको बाटोतर्फ अघि बढ्दै थियो।हिलो रेकर्डिङपछि उनको सांगीतिक यात्रा रोकिएन। बरु उनी अझ बढी उत्साहका साथ सिर्जनामा जुटे। त्यसको केही समयपछि उनले तत्कालीन समयमा अत्यन्त चर्चित बनेको ‘घाम छाया’ गीत रेकर्ड गरे। उक्त गीतले श्रोतामाझ राम्रो लोकप्रियता हासिल गर्यो र उनी देउडा तथा ठाडीभाका गायकका रूपमा अझ व्यापक रूपमा चिनिन थाले।
त्यसपछि उनले निरन्तर एकपछि अर्को क्यासेट बजारमा ल्याउन थाले। यही क्रममा आएको ‘हिरामोती हार’ गीतले उनको परिचयलाई नयाँ उचाइमा पुर्यायो। यही गीतलाई उनी आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छन्।थापा भन्छन्,‘हिरामोती हार’ गीतले मलाई वास्तविक अर्थमा दर्शकमाझ चिनायो। त्यसपछि मानिसहरूले लालबहादुर थापालाई छुट्टै रूपमा चिन्न थाले।"‘हिरामोती हार’पछि उनका ‘घामछाया’, ‘झुपडीको बास’, ‘जीवन सङ्गिनी’ लगायतका दर्जनौँ क्यासेट बजारमा आए। हरेक नयाँ सिर्जनासँगै उनी श्रोताको मनमा अझ गहिरो रूपमा बस्दै गए।समयसँगै उनले पाँच सयभन्दा बढी देउडा, ठाडीभाका तथा लोकगीतमा स्वर दिएका छन्।
उनका धेरै गीत सुदूरपश्चिम र कर्णालीका जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। प्रेम, पीडा, वैदेशिक रोजगारी, सामाजिक यथार्थ, संस्कृति, परम्परा र गाउँघरको जीवनशैली उनका गीतका प्रमुख विषय बने। पछिल्लो समयमा उनका ‘मेरा रानी मौरा’, ‘पाटन पुरीदैन’, ‘साउदी मलेसिया’, ‘गैजा सुवा गैजा’, ‘त मात्रै बाहाडी रैछै’, ‘सुर्जी फुल भाडी’ लगायतका गीतले पनि उल्लेखनीय लोकप्रियता प्राप्त गरे। यद्यपि, आफूलाई कलाकारका रूपमा स्थापित गराउने गीतहरू भने ‘हिरामोती हार’, ‘ए फुलका भाडी’, ‘छाडी गै सङ्गिनी मेरी’, ‘छान्ना थलाराको सेरो’ र ‘न्याउली न्याउली’ रहेको थापा बताउँछन्। तर लालबहादुर थापाको संगीत केवल मनोरञ्जनमा सीमित छैन। उनले सुरुदेखि नै जनवादी, देशभक्ति र सामाजिक चेतनाले भरिएका देउडा तथा ठाडीभाकाहरू पनि सिर्जना गर्दै आएका छन्।
उनका धेरै गीतले समाजका विकृति, विसंगति, राष्ट्रियता, सामाजिक एकता र जनजीवनका वास्तविक कथालाई आवाज दिएका छन्। यही कारण उनका सिर्जनाले मनोरञ्जनसँगै सन्देश पनि दिएका छन्।थापा आफ्नो जीवनको सबैभन्दा ठूलो सम्पत्ति धन वा भौतिक सुविधा नभई दर्शकहरूको मायालाई मान्छन्।उनी भन्छन्,"मेरो लागि सबैभन्दा ठूलो धन भनेकै दर्शकहरूको माया हो। उहाँहरूकै मायाले आज जहाँ गए पनि सम्मान पाएको छु। यही कलाकारिताले मलाई खान–लाउन दिएको छ। अरूले जस्तो धेरै धनसम्पत्ति कमाउन नसकेको होला, तर मैले लाखौँ दर्शकको माया कमाएको छु। मेरो लागि यही नै सबैभन्दा ठूलो सम्पत्ति र यही नै साँचो सुख हो।"
जीवनको सुरुवातमा बिहान–बेलुकाको छाक टार्न संघर्ष गर्नुपर्ने अवस्थाबाट यात्रा सुरु गरेका थापाले आज कलाकारिताकै माध्यमबाट सम्मानित जीवन बाँचिरहेका छन्। जुन समाजले कुनै समय गीत गाउनु र नाच्नु वादी समुदायको काम हो भन्दै उनलाई होच्यायो, आज त्यही समाजले उनलाई ‘देउडा सम्राट’ भनेर सम्मान गर्दछ। यो परिवर्तन केवल एउटा कलाकारको सफलता मात्र होइन, समाजको सोच परिवर्तन भएको सशक्त उदाहरण पनि हो।
कलाकारिताबाट सम्मानित जीवन र प्रेरणाको अमिट विरासत:
लालबहादुर थापाले आफ्नो सम्पूर्ण जीवन कलाकारितालाई समर्पित गरेका छन्। दशकौँ लामो सांगीतिक यात्रामा उनले केवल आफूलाई सफल कलाकारका रूपमा स्थापित गरेनन्, कलाकारिताकै माध्यमबाट आत्मनिर्भर जीवन पनि निर्माण गरे। आज उनको सिङ्गो परिवार नै कलाकारितामा सक्रिय छ। धनगढीमा उनले आफ्नै बडीमालिका रेकर्डिङ स्टुडियो स्थापना गरेका छन्, जहाँबाट थुप्रै नयाँ तथा पुराना कलाकारका सिर्जनाहरू रेकर्ड हुँदै आएका छन्। यससँगै उनले बडीमालिका दोहोरी साँझ, बाडुली गेष्ट हाउस, बडीमालिका फेसन वेयर र घरजग्गा कारोबार गर्ने बडीमालिका आवास प्रालि सञ्चालन गरिरहेका छन्।
यी सबै व्यवसाय कलाकारिताबाट कमाएको आम्दानीकै आधारमा स्थापना गरेको थापा बताउँछन्। उनी भन्छन्, कलाकारिताले उनलाई केवल नाम र सम्मान मात्र दिएको छैन, आत्मनिर्भर बन्ने आधार पनि दिएको छ। त्यसैले आफ्नो बाँकी जीवन पनि संगीत, कला र संस्कृतिको सेवामै समर्पित गर्ने उनको अठोट छ। कुनै समय "गीत गाउने र नाच्ने काम त वादी समुदायले मात्रै गर्ने हो" भन्ने संकीर्ण सामाजिक सोचका कारण आफ्नै परिवार र समाजबाट तिरस्कृत हुनुपरेका लालबहादुर थापा आज नेपाली लोकदेउडा संगीतका सम्मानित व्यक्तित्व बनेका छन्। यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, संघर्ष, धैर्य, निरन्तर मेहनत र आत्मविश्वासको अनुपम उदाहरण पनि हो।
थापाले नेपाली लोकदेउडा संगीतलाई पुर्याएको योगदानलाई कुनै पुरस्कार, पदक वा उपाधिले मात्रै मूल्याङ्कन गर्न सकिँदैन। उनले आफ्ना गीतमार्फत सुदूरपश्चिम र कर्णालीको भाषा, कला, साहित्य, संस्कृति, भेषभूषा, चालचलन, रीतिरिवाज र जनजीवनलाई राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक भूमिका निर्वाह गरेका छन्। उनका सिर्जनाहरू केवल गीत होइनन्, सुदूरपश्चिमको मौलिक पहिचान बोकेका सांस्कृतिक दस्तावेज हुन्। उनी बाजुराली कलाकारहरूका लागि केवल प्रेरणाको स्रोत मात्र होइनन्, अभिभावकसमेत हुन्। लालबहादुर थापाका गीत सुन्दै, उनीबाट प्रेरणा लिँदै कयौँ युवाले कलाकार बन्ने सपना देखे, त्यो सपना पूरा गर्न सङ्घर्ष गरे र आज नेपाली लोकसंगीतमा स्थापित भएका छन्। त्यस अर्थमा थापा एउटा सफल कलाकार मात्र होइनन्, एउटा युगका निर्माता पनि हुन्।
आफ्नो जीवनको उतारचढाव सम्झिँदा थापा कुनै गुनासो गर्दैनन्। बरु संघर्ष नै सफलताको आधार भएको बताउँछन्। गरिबी, सामाजिक विभेद, पारिवारिक वियोग, आर्थिक अभाव र अनेकौँ कठिनाइ पार गर्दै उनले प्रमाणित गरेका छन्—प्रतिभा, लगन र निरन्तर मेहनत भए परिस्थितिले मानिसलाई रोक्न सक्दैन।आज पनि सुदूरपश्चिम र कर्णालीका गाउँघर, बनपाखा, मेलापात र सांस्कृतिक समारोहहरूमा जब लालबहादुर थापाका देउडा र ठाडीभाका गुञ्जिन्छन्, त्यहाँ केवल एउटा गीत बजिरहेको हुँदैन; त्यहाँ सुदूरपश्चिमको संस्कृति, इतिहास, पहिचान र एउटा संघर्षशील कलाकारको जीवनगाथा बोलिरहेको हुन्छ।
विशेषगरी देउडा र ठाडीभाका पारखी, विशेषतः अग्रज पुस्तामाझ लालबहादुर थापा अत्यन्त रुचाइएका कलाकार हुन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सहभागी भएर उनले हजारौँ दर्शक–श्रोताको मन जितेका छन्। धेरै देउडा पारखीहरू थापाको प्रस्तुति हुने दिन आफ्ना व्यक्तिगत कामसमेत थाती राखेर महोत्सव स्थल पुग्ने गर्छन्। यो नै उनीप्रतिको दर्शकहरूको माया, सम्मान र विश्वासको प्रमाण हो।थापा देउडा र ठाडीभाका मन पराउने श्रोताका लागि केवल गायक मात्र होइनन्, सुख–दुःखका सारथि पनि हुन्। उनले गाएका धेरै गीतहरू यस्ता छन्, जसले जीवनका पीडा, वियोग, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई जीवन्त रूपमा अभिव्यक्त गरेका छन्।
उनका गीत सुनेर आफ्ना दुःख बिर्सने र आत्मबल प्राप्त गर्ने श्रोता आज पनि असंख्य छन्।बाजुराका स्थापित कलाकारहरू लालबहादुर थापालाई प्रेरणाको स्रोत मात्र होइन, बाजुराली कलाकारहरूको अभिभावकका रूपमा पनि सम्मान गर्छन्। अधिवक्ता, साहित्यकार तथा कलाकार हर्क खडायत आफ्नो सामाजिक सञ्जालमा लेख्छन्,"जसका गीत सुनेर कलाकार बन्ने हौसला प्राप्त भयो। हाम्रा लागि जो सधैँ प्रेरणाको स्रोत बन्नुभयो। यी गायक सधैँ दर्शक, श्रोता र शुभचिन्तकको मन–मुटुमा बस्नुभयो, निरन्तर। जसले गीत–संगीतलाई साधना बुझे, लागे र अझै लागिरहनुभएको छ।"
हर्क खडायतजस्तै बाजुराका दर्जनौँ कलाकारहरूले पनि लालबहादुर थापाका गीत सुन्दै कलाकार बन्ने सपना देखे। आज उनीहरूमध्ये धेरै नेपाली लोकसंगीत क्षेत्रमा स्थापित भइसकेका छन्। थापाको स्वर, शब्द, संगीत र संघर्षको यात्राले कयौँ युवालाई कलाकारितातर्फ प्रेरित गरेको छ।त्यसैले लालबहादुर थापा एउटा सफल गायकको नाम मात्र होइन, सुदूरपश्चिमको मौलिक लोकसंस्कृति जोगाउने अथक अभियन्ता, बाजुराली कलाकारहरूको अभिभावक र नयाँ पुस्ताका लागि प्रेरणाको जीवित स्रोत हुन्। उनका गीतहरूमा केवल लय र शब्द मात्रै छैनन्, सिङ्गो सुदूरपश्चिमको संस्कृति, इतिहास, संघर्ष र जनजीवनको आत्मा बोलिरहेको छ। यही कारण नेपाली लोकदेउडा संगीतको इतिहास लेखिँदा लालबहादुर थापाको नाम सम्मानका साथ सधैँ स्मरण गरिनेछ।