छोराछोरी र नातिनातिना अमेरिका र युरोप पुगेर नयाँ जीवन शुरू गरिसके, तर केही ज्येष्ठ शरणार्थीहरू भने झापाको शिविरमा एक्लै छन् । कोहीलाई तीन दशकको सम्झनाले यहीं बाँधेर राख्यो, कसैलाई भूटान फर्कने अधुरो आशाले ।
जिल्लाको मध्यभाग भएर बग्ने कन्काई नदी तटमा मनसुनको समयमा बाढीको जोखिम हुन्थ्यो । स्वास्थ्य उपचारको समेत व्यवस्थापन गर्नुपर्ने स्थिति थियो । नदी किनारको बसाइ दीर्घकालीन विकल्प थिएन । त्यसैले तत्कालीन सरकारले नदी किनारमा बसेका शरणार्थीहरूको स्थानान्तरणका लागि विकल्पहरू खोजी गरेको थियो ।
‘नेपाली नेताहरू कोहीले ढल्केबर त कोहीले डडेल्धुरामा स्थानान्तरण गर्नुपर्ने बताइरहेका थिए, केहीले झापा र मोरङमै राख्नुपर्छ भन्ने प्रस्ताव अघि सारेका थिए’, भूटानका राजनीतिकर्मी डीएनएस ढकाल आफ्नो पुस्तकमा लेख्छन्, ‘त्यसबेला भूटानले चाहिं निर्वासित नेपाली भाषी पूर्वी नेपालमा नबसुन् भन्दै लबिइङ गरेको थियो ।’