सेतो वस्त्रमै जनताको घरदैलोमा थापा,व्यक्तिगत शोकमाथि सार्वजनिक जिम्मेवारी

जनताका बीचमा सबैभन्दा बढी देखिने,निष्कलंक छबि भएका थापा, को हुन् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

थापा जनताको बीचमा भोट माग्दै हिँडिरहेका थिए । चुनावी अभियानका क्रममा जगन्नाथ गाउँपालिका थिए।   एक्कासि घरबाट फोन आयो—“आमा रहिनन्”त्यो खबरले थापालाई हाँगाबाट खसेझैँ बनायो। शब्द रोकिए, पाइला रोकिए, संसार नै रोकिएको जस्तो अनुभुति भयो, सिङ्गो पार्टी पंक्तिमा सन्नाटा छायो । घर फर्किँदा आँगनभरि रुवाबासी चेलेको थियो, सिङ्गो परिवार शोकमा डुबेको थियो। आमा गुमाउनु भनेको केवल एउटा व्यक्ति गुमाउनु होइन, जीवनको आधार, आश्रय र आत्मबल गुमाउनु हो। त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन, कल्पना पनि गर्न सकिँदैन।यही असह्य पीडाका बीच थापा अहिले किरिया बसेका छन्। सेतो पहिरनमा, आँखा राताम्मे, मन भारी—तर पाइला भने जनताको घरदैलोमै छन्।आफ्नो दुःखलाई छातीभित्र दबाएर, अरूको दुःख सुन्ने साहस कमैसँग हुन्छ।सेतो वस्त्रमा जनताको आँगनमा पुगेर गुनासो सुन्नु, प्रतिबद्धता सुनाउनु, आश्वासन दिनु,यो केवल राजनीति होइन, जिम्मेवारीप्रतिको निष्ठा हो

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

जनताका बीचमा सबैभन्दा बढी देखिने,निष्कलंक छबि भएका थापा, को हुन् ?

काठमाडौं: फागुन २१ नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ। दलका उम्मेदवारहरू हात जोड्दै, भाषण गर्दै, आफ्ना एजेन्डा सुनाउँदै मतदाताको घरदैलो धाइरहेका छन्। गाउँ–शहर, चोक–गल्ली, सभा–सम्मेलन सबै चुनावमय बनेका छन्। बाजुरामा पनि यही चहलपहल छ। आलोपालो नेता गाउँ–गाउँ पुगेर भोट मागिरहेका छन्, वाचा गरिरहेका छन्, समर्थन जुटाइरहेका छन्। तर यही भीडको बीचमा एउटा दृश्य भने फरक देखिन्छ— सेतो पहिरनमा, शोकको मौन छायासँगै, घरदैलोमा पुगेर जनतासँग हात जोड्दै हिँडिरहेका नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लाल बहादुर थापा ।

२०७४ सालमा निर्वाचित सांसद समेत रहेका थापा  केवल मत मागिरहेका छैनन्,।उनी जनताको दुःख सुनिरहेका छन्। आफ्नो व्यक्तिगत पीडाभित्रै पनि सार्वजनिक जिम्मेवारीलाई अघि राख्ने त्यो शान्त, गम्भीर उपस्थिति बाजुराका धेरैका लागि भावनाभन्दा माथिको विश्वास बनेको छ। भीडमा सबै देखिन्छन्, तर सबै महसुस हुँदैनन्। त्यही भीडभित्र, अलग पहिचान बनाउँदै सेतो पहिरनमा हिँडिरहेका थापा आज चुनावी प्रतिस्पर्धाभन्दा बढी जिम्मेवारीको प्रतीक बनेर उभिएका छन्।

घरमा आमाको आवाज सधैंका लागि बन्द भएको दिन, संसारकै सबैभन्दा ठूलो शून्यता कस्तो हुन्छ ?भन्ने कुरा शब्दले बयान गर्न सक्दैन। यहीँ असह्य पीडाको बीच, आँखा रसाइरहेका, मन टुक्रिएको अवस्थामा पनि एउटा छोरो घरभित्र मात्रै बसेन। आमाको किरिया बस्दै गरेको सेतो पहिरनमै ऊ फेरि निस्कियो—जनताको घरदैलोतिर।थापा जनताको बीचमा भोट माग्दै हिँडिरहेका थिए । चुनावी अभियानका क्रममा जगन्नाथ गाउँपालिका थिए।   एक्कासि घरबाट फोन आयो—“आमा रहिनन्”त्यो खबरले थापालाई हाँगाबाट खसेझैँ बनायो। शब्द रोकिए, पाइला रोकिए, संसार नै रोकिएको जस्तो अनुभुति भयो, सिङ्गो पार्टी पंक्तिमा सन्नाटा छायो । घर फर्किँदा आँगनभरि रुवाबासी चेलेको थियो, सिङ्गो परिवार शोकमा डुबेको थियो। 

आमा गुमाउनु भनेको केवल एउटा व्यक्ति गुमाउनु होइन, जीवनको आधार, आश्रय र आत्मबल गुमाउनु हो। त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन, कल्पना पनि गर्न सकिँदैन।यही असह्य पीडाका बीच थापा अहिले किरिया बसेका छन्। सेतो पहिरनमा, आँखा राताम्मे, मन भारी—तर पाइला भने जनताको घरदैलोमै छन्।


आफ्नो जीवनकै सबैभन्दा कठिन क्षणमा पनि जनताको हात नछोड्ने मान्छे कस्ता हुन्छन् ?भन्ने विषय थाहा पाउन लाल बहादुर थापालाई हेर्नुपर्छ ।  आफ्नो दुःखलाई छातीभित्र दबाएर, अरूको दुःख सुन्ने साहस कमैसँग हुन्छ।सेतो वस्त्रमा जनताको आँगनमा पुगेर गुनासो सुन्नु, प्रतिबद्धता सुनाउनु, आश्वासन दिनु—यो केवल राजनीति होइन, जिम्मेवारीप्रतिको निष्ठा हो उनका समर्थकहरु बताउन्छन् । झन्डै ४ दशक लामो राजनीतिक यात्रामा सबैभन्दा बढी जनताको बीचमा देखिने नेता भनेर चिनिएका लाल बहादुर थापा आज व्यक्तिगत शोक र सार्वजनिक कर्तव्यको दोसाँधमा उभिएका छन्। विकासप्रेमी, जनतामुखी र सरल जीवनशैलीका कारण उनले बनाएको “लोकप्रिय नेता” को परिचय आज झन् गहिरो देखिन्छ।

आमा गुमाएको पीडाभित्रै पनि जनताको हात नछोड्ने यो प्रतिबद्धता—सायद यही नै साँचो राजनीति हो। उनका समर्थकले सामाजिक सञ्जाल मार्फत भनिरहेका छन् । जहाँ व्यक्तिगत आँसु भन्दा ठूलो हुन्छ जनताको विश्वास।त्यो दिन केवल चुनावी दौडधुपको दिन थिएन, त्यो दिन एउटा छोराको जीवन टुक्रिएको दिन थियो। आमाको मृत्युको खबरले स्तब्ध भएका  थापा आज पनि सेतो पहिरनमा जनताको घरदैलोमा उभिएका छन्—व्यक्तिगत शोकलाई छातीभित्र राखेर सार्वजनिक जिम्मेवारी पूरा गर्दै। तर यो समर्पण नयाँ होइन। 

संसदलाई रातो किताब फिर्ता गर्ने बाजुराको एक मात्रै सांसद : 

बाजुराबाट चुनाव जितेर गएकाहरु संसदमा पार्टीको निर्देशनअनुसार आफ्नो धारणा राख्ने गरेको बाजुराले पटक-पटक  अनुभुती गर्दै आएको विषय हो। कुनै पनि सांसद आफ्नो पार्टीको सरकार हुँदा प्रश्न गर्ने क्षमता राख्दैनन् जिल्लाको हित भन्दा माथि राजनीति आस्था राख्छन् । तर २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि सांसद बनेका थापाले संसदमा बाजुराको आवाज जोडतोडले उठाए। सत्ता आफ्नै पार्टीको हुँदा पनि उनी चुप बसेनन्।

बरु प्रतिपक्षीझैँ प्रश्न गरे, दबाब दिए, बोल्नुपर्ने ठाउँमा ठाडो उभिए। दुर्गम र विकट भनेर वर्षौँदेखि उपेक्षित बाजुरालाई बजेटमा अन्याय भएको भन्दै उनले “रातो किताब” नै फिर्ता गरे, “मैले मेरो जिल्लाका मेरा मतदातालाई के जवाफ दिने? के बाजुरा यो देशभित्र पर्दैन?”उनले त्यस बेला भनेका थिए यो प्रश्न उनले केवल सरकारलाई होइन, सिङ्गो राज्यसंरचनालाई सोधेका थिए। सभामुखमार्फत औपचारिक रूपमा सरकारलाई प्रश्न गर्दै उनले देखाए—सांसद पद सुविधा होइन, जिम्मेवारी हो।

जिल्लाको समग्र विकास, पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य—यी मुद्दामा निरन्तर दबाब सिर्जना गर्ने नेताका रूपमा उनले राष्ट्रिय राजनीतिमै प्रभाव जमाएका छन् । बाजुराको आवाज सिंहदरबारसम्म पुर्‍याउने नेतामध्ये एक नाम बन्यो लाल बहादुर थापा । युवा पुस्तामाझ उनको लोकप्रियता झन् विशेष छ। कारण केवल भाषण होइन, बुझाइ हो। युवाको बेरोजगारी, अवसरको अभाव, वैदेशिक पलायनको पीडा—यी विषयलाई उनले नारामा होइन, नीतिमा जोड्ने प्रयास गर्दै आएको उनले बताउदै आएका छन्  युवाको जनआकांक्षा बुझ्ने, उनीहरूका मागलाई आफ्नै एजेन्डा बनाउने नेताको पहिचान उनले बनाएका छन्।

हाम्रो राजनीतिको तीतो यथार्थ के हो भने—धेरै नेता पाँच वर्षमा एकपटक मात्र गाउँ फर्किन्छन्। चुनावका बेला हात जोड्ने, जितेपछि राजधानीमै हराउने प्रवृत्ति नयाँ होइन। बाजुराले पनि यस्तो बेवास्ता भोगेकै हो।
तर समर्थकहरू भन्छन्—थापा त्यो भीडका नेता होइनन्। उनी चुनावमा मात्र होइन, समय–समयमा जनताको घरदैलोमा देखिन्छन्। जनताका पीडा, मर्का, दुःख र सुखका सारथि बन्ने नेता हुन्। जनताको आँगनमा बस्ने, चिया खाँदै गुनासो सुन्ने, समस्या कागजमा होइन, मनमा टिप्ने नेताको रूपमा चिनिएका छन्।व्यक्तिगत शोकको भारी बोक्दै पनि जनताको विश्वास नछोड्ने यो यात्राले एउटा कुरा स्पष्ट देखाउँछ—
नेतृत्व पदले होइन, प्रतिबद्धताले मापन हुन्छ। र बाजुराका धेरैका लागि त्यो प्रतिबद्धताको नाम हो—लाल बहादुर थापा।

के भन्छन् त थापाका समर्थकहरु ? 

थापा पार्टी भित्रको नेता मध्य युवा माझ लोकप्रिय छन् ।  आफ्नो राजनीति जीवनभर कुनै पनि दाग नलागेको एउटा निष्कलंक छवि भएको र सबैभन्दा बढी जनताको बीचमा रहने नेताको छवि बनाउन सफल नेताका रुपमा थापालाई लिने गरेको साहित्यकार समेत रहेका डा .भेषराज बुढाथोकी बताउन्छन् । उनी भन्छन् "थापा जिल्लाका अरू नेताको तुलनामा गाउँ आइरहने , गाउँ टेकीरहने , गाउँ डुलीरहने नेतामा पर्छन् । लालबहादुर थापाको वास्तविक परिचय नै यही हो । उनको वास्तविक छवि नै ‘गाउँको नेता’ हो । ‘जनताको नेता’ हो । तल भुईँमा बसेर , भुईँमै बसेका जनताको लागि काम गरीरहने उनको ‘अच्छा स्वभाव’ हो । यही स्वभावका कारण उनी अरू भन्दा फरक छन्" 

बाजुराको कम्युनिष्ट आन्दोलनमा ,बाजुराको  विकास निर्माणमा थापाको योगदान शारीरिक उचाई भन्दा कम अग्लो रहेको उनको भनाई छ । बाजुराको सन्दर्भमा मदन भण्डारी सम्झाइरहने नेताका रुपमा लाल बहादुर थापालाईभेषराज चिन्छन् ।  उनी थप्छन् " भाषणले मात्रै होइन उहाँ संगठन निर्माणका हिसाबले पनि मदन भण्डारीको झल्को दिन्छन् । यसर्थ विचारका हिसाबले , संगठन निर्माणका हिसाबले ,जन परिचालनका हिसाबले नेता लालबहादुर थापालाई ‘बाजुराका एमाले’का मदन भण्डारी भन्दा अत्युक्ति हुन्छ जस्तो मलाई लाग्दैन"।

बाजुरालाई केवल चुनावका बेला देखिने नेता होइन, दुःखमा साथ दिने, संसदमा आवाज उठाउने, अन्यायमा प्रश्न गर्ने र विकासका मुद्दामा अडिग उभिने नेतृत्व चाहिएको छ। व्यक्तिगत पीडाभित्र पनि सार्वजनिक जिम्मेवारी नछोड्ने, सत्ता भए पनि नझुक्ने र जनताको पक्षमा बोल्न नडराउने यस्तै नेता आजको बाजुराको आवश्यकता रहेको थापाका समर्थक युवा संघका नेता बिष्णु कार्कीको भनाई छ 

बाजुराको भविष्य सुरक्षित गर्न, जिल्लाको आवाज बलियो बनाउन र जनताको आशा जोगाइराख्न अब पनि यस्तै प्रतिबद्ध, जनतासँग जोडिएको नेता जिताउनुपर्ने समय आएको उनले बताए । यस्तै जनमुखी र सरल स्वभाव – स्थानीय जनतासँग सहज रूपमा घुलमिल हुने,नेताका रुपमा लाल बहादुर थापालाई आफुले लिने गरेको युवा नेता दिल बहादुर थापा बताउन्छन् । राजनीतिक रूपमा अनुभवी – पार्टी संगठन, चुनावी अभियान र जनसम्पर्कमा लामो समयदेखि सक्रिय थापा सामूहिक निर्णयलाई प्राथमिकता दिने, संगठनात्मक एकतामा विश्वास गर्ने नेता थापा रहेको उनको भनाई छ । 


समग्र बाजुराली बासीको सुख दुखको सारथी,उत्पिडित वर्ग,समुदायको पहरेदार ,जनमुखि विकासबादी नेता परिचय बनाउन सफल नेता मध्य एक लाल बहादुर थापा पनि रहेको युवा नेता देव बहादुर रोकाया सुनाउन्छन् । रोकाया भन्छन् " स्वभावमा अलि कडा,अनुसाशित इमान्दार,राजनिति कर्तब्य निष्ठावान,युवा कार्यकर्ता मुखि भावना,विकासमा सधै चिन्तित,कार्यकर्ता संरक्षणमा सबै भन्दा अब्बल, चरित्रमा निष्कलंकित सबैको अविभावकत्व निर्वाह गर्न सक्ने नेतृत्व"

को हुन् त नेता थापा, यस्तो छ उनको राजनीति पृष्ठभुमि 

बाजुराको बुढीगंगा नगरपालिका ३ ताप्रामा जन्मिएका लाल बहादुर थापाले २०४५ सालमा नेपाल क्याम्पसबाट विद्यार्थी राजनीतिको प्रारम्भ गरेका थिए। थापाले विद्यार्थी राजनीतिमा नेपाल  क्याम्पसमा अखिलको प्रारम्भिक कमिटी सचिव हुँदै उपाध्यक्ष पदमा रहि काम गरे । बिद्यार्थी उमेरबाटै राजनीति प्रारम्भ गरेका थापा २०५३ सालबाट  पार्टी राजनितिमा सक्रिय भए ।  २०५३ सालमा नेकपा (एमाले) बाजुरा जिल्ला कमिटी सचिव भए । संगठन निर्माणमा महत्त्वपूर्ण योगदान गरेका थापाकै नेतृत्वमा बाजुरा जिल्लामा स्थानिय तह निर्वाचन २०५४ सालको निर्वाचनमा एमाले मय बन्यो। जसमा  साविकको २७ गा.।वि.स मध्ये १७ गा.वि.स नेकपा एमालेले जित्यो । २८ वर्षको उमेरमा देशकै कान्छो जिल्ला विकास समितिको सभापति बने । 

जिल्ला विकास समितिको सभापति हुँदा जिल्ला विकासमा महत्वपूर्ण योगदान पुर्याएका थापाले     पञ्चबर्षिय योजना,बाजुरा जिल्लाको विकासको गुरु योजनाको निर्माण गरेका थिए।  त्यस बेला देशकै उत्कृष्ट सभापति भई राजा ज्ञानेन्द्रको पालामा पुरस्कृत गर्ने निर्णयलाई इन्कार समेत गतेका थिए। जिल्ला सभापति हुँदा बैठक भत्ता समेत नलिएका निष्कलंक छवि भएका थापा २०६५ सालमा नेकपा(एमाले)प्रतिनिधि परिषद सदस्य भए । २०६७ अखिल नेपाल किसान महाँसंघ केन्द्रिय सदस्य हुँदै केन्दिय उपाध्यक्षको जिम्मेवारीमा रहे ।

२०६९ सालमा एमाले बाजुराको जिल्ला कमिटी अध्यक्ष भएका थापाकै नेतृत्वमा संविधान सभाको निर्वाचनमा जिल्लामा एमालेलाई जिताउन सफल भए। २०७१ सालमा पार्टीको ९ औँ राष्ट्रिय महाधिवेशनबाट केन्दिय कमिटी सदस्य निर्वाचित भए । पार्टी राजनीतिको विभिन्न जिम्मेवारीमा रहेर संगठन निर्माणमा महत्वपूर्ण भुमिका खेल्दै नेपाली कांग्रेसको लाल किल्लाका रुपमा रहेका बाजुरामा एमालेको झण्डा पटक-पटक  फरफराए । पार्टी राजनीतिबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाजुरा जिल्लाबाट निर्वाचित भएर संघीय संसदको यात्रा तय गरे।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट पुन केन्द्रीय कमिटी सदस्य बाजुरा जिल्ला पार्टी इन्चार्जको जिम्मेवारी प्राप्त गरे । सांगठानिक भूमिकामा महत्वपूर्ण योगदान गरेका थापा जिल्ला भन्दा बाहिरका जिल्लामा समेत संगठन निर्माणमा अहमभूमिका छ। यस्तै पार्टीको ११ ‍औ राष्ट्रिय महाधिवेशनबाट पून केन्दिय सदस्य निर्वाचित भएका थापा हाल बाजुरा जिल्लाको नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदारका रुपमा चुनावी मैदानमा छन्।

यतिबेला बाजुरामा पुराना अवसर लिईसकेका नेतालाई दोहोर्‍याउने आवाज उठिरहेको छ। रास्वपा हेमराज थापा सहितका अन्य उम्मेदवार पनि मैदानमा छन् । यस अघि संघीय सांसद निर्वाचित भएर प्रदेशमा निर्वाचन हारेका थापालाई प्रतिपक्षी दलले अवसरको लागि जे पर्ने गर्ने नेता भनेर आलोचना पनि गर्छन् । यद्यपि पार्टी पंक्ति भने यतिबेला थापालाई जिताउन एकताबद्ध भएर चुनावी प्रचार प्रसारमा व्यस्त छन् । ११ औं केन्द्रिय महाधिवेशनमा ओलीको बिपक्षी  समुहबाट पार्टी नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रीएका कर्ण बहादुर थापा पनि अहिले थापालाई भोट माग्न बाजुरामै छन् ।

कतिपयले केन्द्रको पार्टी भित्रको आन्तरिक विवादको बाछिटा जिल्ला सम्म पुग्ने चर्चा भैइरहेका बेला त्यो आशंकालाई चिर्न  थापा स्वयम उम्मेदवारको पक्षमा भोट माग्न सक्रिय छन् । कर्ण थापाकै सक्रियता हेर्दा पनि निर्वाचनको मुखैमा आन्तरिक विवाद,असहमतिका बीच एमालेलाई जिताउन नेता कार्यकर्ता एक ढिक्का भएका देखिन्छ । बाजुरामा ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस एमाले  बीच नै हुने एमाले कांग्रेस निकट नेताहरु दाबी गर्छन् ।

यद्यपि पुराना यी दुई प्रतिस्पर्धी एमाले र कांग्रेसलाई चुनौती दिन रास्वपाबाट हेमराज थापा,नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर शाह मैदानमा छन् । यी चार जना बीच प्रतिस्पर्धा हुने आंकलन धेरैको छ । यद्यपि प्रतिस्पर्धा भने यतिबेला निकै रोचक हुने देखिन्छ । विगतका निर्वाचनमा मुख्य  दुई दल बीच मात्रै प्रतिस्पर्धा हुँदै आएको बाजुरामा एमाले कांग्रेसले रास्वपा र नेपाली कम्युनिस्ट पार्टीको सामना गर्नुपर्ने देखिन्छ । यता नेपाली कांग्रेसमा विशेष महाधिवेशन पछि आन्तरिक द्वन्द छ । बाजुरामा एमालेले कांग्रेस भित्रको आन्तरिक द्वन्दको फाइदा उठाउने दाउमा देखिन्छ ।  

उसो त यता कांग्रेसले पनि  पार्टी एकताबद्ध भएर निर्वाचन केन्द्रीत भएको दाबी गरिरहेको छ। कांग्रेसले भनेजस्तै व्यवाहारमा कांग्रेस एकढिक्का भए लाल बहादुर थापा मात्रै होईन विगतको जनमत हेर्दा कांग्रेस नै बलियो देखिन्छ । यहीँ बीचमा थापालाई पनि निर्वाचन जित्न त्यति सहज देखिदैन । विगतका निर्वाचनमा जस्तै सजिलोसँग निर्वाचन जित्ने परिस्थिति यतिबेला नेकपा एमाले बाजुरालाई देखिदैन। कडा मिहिनेत गर्दा पनि निर्वाचन जित्न भने थापालाई फलामे चिउरा चपाउनु सरह कठिन हुने चर्चा पनि चुनावी सरगर्मीका बीच भैईरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।