पुराना दलको आलोचना गर्दै वैकल्पिक राजनीति र पारदर्शिताको नारा बोकेको रास्वपा अहिले आफ्नै डिजिटल प्रणालीको दुरुपयोग रोक्न असफल देखिएको छ। छोटो समयमा लोकप्रियता कमाएको पार्टीकै नाममा यस्ता गतिविधि सार्वजनिक हुनु केवल प्राविधिक कमजोरी होइन, राजनीतिक गैरजिम्मेवारी र नैतिक पतनको संकेतका रूपमा समेत हेरिएको छ।
यसले छोटो समयमा नेपाली राजनीतिको वर्षौंदेखीको पुराना राजनीति दलको विरासत भत्काएर हायलकायल बनाएर शक्तिशाली भएर उडाएको रास्वपको नैतिकता इमानदारीता र निष्ठा माथी मात्रै गम्भीर प्रश्न उठाएको छैन। जान्नेलाई छान्ने भाष्य बोकेर राजनीति लोकप्रिय बनेको रास्वपाले नै डिजिटल प्रबिधिको च्रम दुरुपयोग गरेको दृष्टान्तका रुपमा पनि हेरिएको छ ।
नक्कली सदस्यता कसले बनायो ? भन्ने विषयमा पार्टी स्वयं अनभिज्ञ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुरा माथि नक्कली सदस्यता बनाएर राजनीतिक भ्रम फैलाएको गम्भीर आरोप लागेको छ। “जान्नेलाई छान्ने” नारा बोकेर वैकल्पिक राजनीतिको दाबी गर्दै आएको रास्वपाको डिजिटल सदस्यता अभियान नै अहिले प्रश्नको घेरामा परेको छ।
पछिल्लो समय रास्वपाले देशभर अनलाइनमार्फत धमाधम पार्टी सदस्यता वितरण गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोग गरेर सदस्यता विस्तार गर्ने अभियानलाई सुरुमा सकारात्मक अभ्यासका रूपमा हेरिए पनि बाजुरामा भने यही प्रणाली दुरुपयोग भएको घटना सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक भएको घटनाले रास्वपाको डिजिटल प्रणालीको विश्वसनीयतामाथि मात्रै होइन, पार्टीको नैतिकता, इमानदारी र जिम्मेवारीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ। अनलाइनमार्फत सदस्यता वितरणको नाममा व्यक्तिको अनुमति नै नलिई फोटो, नाम र व्यक्तिगत विवरण प्रयोग गरेर सदस्यता बनाइएको घटना बाहिरिएपछि रास्वपाको डिजिटल अभियानमाथि नै प्रश्न उठेको छ।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेकी बुढीगंगा नगरपालिका–४ निवासी कांग्रेस नेतृ पूजा कुमारी खड्काको अनुमति नै नलिई उनको नाममा रास्वपाको सदस्यता बनाइएको पाइएको छ। सदस्यता नम्बर बाजुरा १ (ख) ०००२५००८२ रहेको उक्त सदस्यताको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो। यो संगै बुढीगंगा नगरपालिका–१० की कमला ल्वारको नाममा बनेको सदस्यता पनि सामाजिक सञ्जालमा शेर गरिएको थियो ।
केही रास्वपा निकट व्यक्तिहरूले ती सदस्यताका फोटो सार्वजनिक गरेका थिए। “अनिल बुढा” नामको फेसबुक पेजबाट पोस्ट गरिएपछि कांग्रेस नेतृ खड्काले तत्काल सार्वजनिक आपत्ति जनाउँदै स्पष्टिकरण दिएकी थिइन्। त्यसलगत्तै उक्त पोस्टबाट उनको सदस्यताको फोटो हटाइएको थियो।
खड्काले आफ्नो अनुमति, इच्छा र जानकारीबिना सदस्यता बनाइएको भन्दै यसलाई आफ्नो राजनीतिक चरित्र हत्या गर्ने सुनियोजित प्रयास भएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू नेपाली कांग्रेसको निष्ठावान कार्यकर्ता भएको स्पष्ट पार्दै आफ्नो नाम, तस्वीर र व्यक्तिगत विवरण प्रयोग गरेर फैलाइएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाएकी छन्।
उनले लेखेकी छन् — कुनै पनि व्यक्तिको अनुमति बिना, सत्यता नबुझी सार्वजनिक रूपमा बदनाम गर्ने अधिकार कसैलाई छैन। आफ्नो राजनीतिक भविष्य, आत्मसम्मान र चरित्रमाथि खेलवाड गर्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।
खड्काले डिजिटल प्रविधिको माध्यमबाट सदस्यता विस्तार गर्नु सकारात्मक विषय भए पनि त्यसको नाममा व्यक्तिको अनुमति नै नलिई चरित्र हत्या गर्ने शैली अपनाइनु अत्यन्त निन्दनीय भएको बताएकी छन्। उनले आफ्नो पार्टी नेतृत्व, शुभेच्छुक र समर्थकलाई यस्ता झुटा प्रचारको भ्रममा नपर्न आग्रह गर्दै आफू कांग्रेसको विचार, सिद्धान्त र निष्ठाप्रति सदैव अडिग रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यता अनिल बुढाले भने आफुले नियत बस कसैको चरित्र हत्या गर्ने उदेश्यले पोष्ट नगरेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत आफुलाई प्राप्त भएपछी शेर मात्रै गरेको उनको दाबी छ । आफुले पनि अरुबाटै प्राप्त गरेको बताउदै बुढाले यो कसको बनाएको हो भन्ने बारे आफुलाई नै जानकारी नभएको जिकिर गरेका छन् ।
घटनापछि रास्वपा बाजुराको चर्को आलोचना सुरु भएको छ। डिजिटल प्रविधिको दुरुपयोग गरेर व्यक्तिको व्यक्तिगत विवरण, फोटो र राजनीतिक पहिचानमाथि खेलवाड गरिएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ। तर गम्भीर प्रश्न यस्तो नक्कली सदस्यता कसले बनायो ? भन्ने विषयमा पार्टी स्वयं अनभिज्ञ देखिएको छ।
रास्वपा बाजुराका सभापति नवराज जोशीले घटनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले जिल्लाभर अनलाइन सदस्यता अभियान चलिरहेको स्वीकार्दै, कसैले गलत तरिकाले सदस्यता बनाएको भए त्यो “स्वतः खारेज हुने” बताएका छन्।यतिमात्रै होइन कुनै कार्यकर्ताले गरेको गलतीको दोष पार्टी माथि थुपार्न नमिल्ने सभापति जोशीको तर्क छ । उनले भने, “मलाई यो विषयमा जानकारी थिएन। सूचीमा पूजा कुमारी खड्काको नाम देखिएको थियो। यदि उहाँलाई नसोधी सदस्यता बनाइएको हो भने त्यो स्वतः खारेज हुन्छ। उहाँले निवेदन दिनुपर्छ, हामी खारेज गरिदिन्छौँ।”
तर दुरुपयोग गर्ने व्यक्तिमाथि पार्टीले कुनै कारबाही गर्ने व्यवस्था छ कि भन्ने प्रश्नमा सभापति जोशी स्पष्ट हुन सकेनन्। उल्टै “अहिले एआईको जमानामा जसले पनि दुरुपयोग गर्न सक्छ” भन्दै जिम्मेवारीबाट पन्छिन खोजिएको प्रतिक्रियाले झन् शंका बढाएको छ। यदि पार्टीको सदस्यता प्रणाली यति कमजोर छ कि जसले चाह्यो उसैले अरूको नाममा सदस्यता बनाउन सक्छ भने त्यसको जिम्मेवारी कसले लिने ? यदि पार्टी आफैंलाई थाहा छैन कसले सदस्यता बनायो भने लाखौं नागरिकको व्यक्तिगत विवरण कति सुरक्षित छ ?भन्ने प्रश्न पनि उब्जाएको छ ।
पुराना दलको आलोचना गर्दै वैकल्पिक राजनीति र पारदर्शिताको नारा बोकेको रास्वपा अहिले आफ्नै डिजिटल प्रणालीको दुरुपयोग रोक्न असफल देखिएको छ। छोटो समयमा लोकप्रियता कमाएको पार्टीकै नाममा यस्ता गतिविधि सार्वजनिक हुनु केवल प्राविधिक कमजोरी होइन, राजनीतिक गैरजिम्मेवारी र नैतिक पतनको संकेतका रूपमा समेत हेरिएको छ।
यसले छोटो समयमा नेपाली राजनीतिको वर्षौंदेखीको पुराना राजनीति दलको विरासत भत्काएर हायलकायल बनाएर शक्तिशाली भएर उडाएको रास्वपको नैतिकता इमानदारीता र निष्ठा माथी मात्रै गम्भीर प्रश्न उठाएको छैन। जान्नेलाई छान्ने भाष्य बोकेर राजनीति लोकप्रिय बनेको रास्वपाले नै डिजिटल प्रबिधिको च्रम दुरुपयोग गरेको दृष्टान्तका रुपमा पनि हेरिएको छ ।