कार्यकर्ताको एकताबद्ध कांग्रेस बनाउने जनभावनालाई कुल्चिएर नेताहरु भने आ-आफ्नै राजनीति स्वार्थपुर्तीमा लाग्दा,गुटबन्दीमा रुमलिदा मजबुत कांग्रेसको भविष्य ओझेलमा परेको देखिन्छ। जिल्लामा आफुलाई बलियो दाबी गर्ने कांग्रेस निर्वाचन मार्फत भने पुष्टि गर्न असफल हुँदै आएको मत परिणामले देखाउन्छ ।
जिल्लामा कांग्रेस बलियो हुँदाहुँदै पनि नेताहरुको व्यक्तिगत स्वार्थको आपसी द्वन्द्वका कारण,पार्टी हारको संघारमा पुग्ने गरेको गुनासो कार्यकर्ता स्तरमा छ।नेताहरु यतिबेला जिल्लाका प्रत्येक पालिकामा पुगेर अब गुट-उपगुटको राजनीतिक अन्त्य गर्ने भनिरहेका छन्।
आसन्न अधिवेशनमा सहमतिका आधारबाट नेतृत्व निमार्ण गर्ने गरि गुटगत राजनीतिक अन्त्य गर्ने प्रतिबद्धता समेत नेताहरुको छ। पार्टीका आन्तरिक असमझदारी अन्त्य गर्दै सहमतिको दिशातर्फ अघि बढ्ने, स्थानीय तहदेखि पार्टी संगठनसम्म देखिएका मतभेदलाई समाधान गर्ने कुरामा नेताहरुले हो मा हो मिलाइरहेका छन् । यतिबेला सबैको बोलीमा एकमत देखिन्छ।
सहमति र एकताको रटान लगाइरहेको नेताहरु दिन सक्लान् एकताको सन्देश ?
काठमाडौँ: नेपाली कांग्रेसले लामो रस्साकस्सी पछि आगामी पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशनको मिति तोकेको छ। महाधिवेशनको मिति नजिकिए संगै यतिबेला कांग्रेस बाजुराका नेताहरु पनि काठमाडौँको बसाईलाई बिट मार्दै जिल्ला तर्फ हानिएका छन् । नेताहरु जिल्लामा पुगेका मात्रै छैनन् । अधिवेशन केन्द्रित गतिबिधि सुरु गरेका छन् । अहिले नेताहरु प्रत्येक पालिकाका नेता कार्यकर्ता संग धमाधम साक्षात्कार कार्यक्रममा व्यस्तदेखिन्छन् । तोकेको कार्यतालिका अनुसार अधिवेशन हुने नहुने संशयका बीच बाजुरा कांग्रेसलाई भने अहिले देखि नै अधिवेशनको चटारो छ ।
यसैबीच शनिबार स्वामिकार्तिक गाँउपालिकामा गाउँ कार्य समितिको आयोजनामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस बाजुराका नेताहरुले सबैले एउटै स्वरमा भने सहमतिमा नेतृत्व चयन गछौँ,कांग्रेस बाजुराले बाजुराबाट एकताको सन्देश दिन्छ। कांग्रेस बलियो बनाउने,एकताबद्ध बनाउने,गुटगत राजनीतिको अन्त्य गर्ने भाषण यो कुनै नौलो बिषय होईन । जुनसुकै मञ्चको रोष्टमबाट पनि नेताहरुले विगतमा पनि यहीँ भन्दै आएका थिए। फेरि अहिले त्यहीँ अभिव्यक्ति दोहोर्याएका छन् ।यसलाई नौलो विषय भन्न पनि मिलेन। नेताहरुले भाषणमा जस्तो व्यवाहार तह कार्यान्वयन गर्न सक्दैनन् भन्ने कुरा पनि घाम झै छर्लङ्ग छ।
विगत तिर फर्कियो भने कांग्रेस बाजुराले हरेक अधिवेशनमा,हरेक निर्वाचनमा पटक पटक दिने गरेको पुरानै नेताहरूको पुरानै यी अभिव्यक्ति हुन् । नेताहरु पनि तीनै हुन् ।भाषण पनि त्यहीँ हो तर विगतमा बोलेको कुरा व्यवाहारमा कार्यान्वयन गर्न असफल नेताहरु यतिबेला आफ्नो अभिव्यक्तिलाई सार्थक बनाउन सक्लान्? कि विगतमा जस्तै खेल फाल्लान्? वा फेरीपनि भाषणमा मात्रै सिमित होलान् भन्ने प्रश्नहरु उठेका छन् । बोलिमा एउटा बोल्ने व्यवाहारमा अर्कै तानाबाना बुन्ने बिषय कांग्रेस नेताहरुका लागि समान्य बिषय जस्तै हो । तर विगत बिर्सीएर,कमजोरी सच्याएर अगाडी बढ्नुपर्ने,एकढिक्का हुनुपर्ने,बलियो संगठन निर्माणमा सबै लाग्नुपर्नेमा यतिबेला नेताहरुले जोड छ ।
नेताहरु यतिबेला जिल्लाका प्रत्येक पालिकामा पुगेर अब गुट-उपगुटको राजनीतिक अन्त्य गर्ने भनिरहेका छन् । आसन्न अधिवेशनमा सहमतिका आधारबाट नेतृत्व निमार्ण गर्ने गरि गुटगत राजनीतिक अन्त्य गर्ने प्रतिबद्धता समेत नेताहरुको छ। पार्टीका आन्तरिक असमझदारी अन्त्य गर्दै सहमतिको दिशातर्फ अघि बढ्ने, स्थानीय तहदेखि पार्टी संगठनसम्म देखिएका मतभेदलाई समाधान गर्ने कुरामा नेताहरुले हो मा हो मिलाइरहेका छन् । यतिबेला सबैको बोलीमा एकमत देखिन्छ।
नेताहरुको बोलिलाई आधार मान्ने हो भने बिभिन्न पालिकामा पुगेर कांग्रेसले एकताको सन्देश दिन खाजेको देखिन्छ।आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै बलियो कांग्रेस,एकताबद्ध कांग्रेस,सृदृढ कांग्रेस बनाउने संकल्प गर्दै अगाडी बढ्नुपर्नेमा सबैको एकमत देखिन्छ । यतिमात्रै होइन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितका लागि एकजुट हुनुपर्नेमा जोड दिइरहेका नेताहरु पछिल्लो समय देखिएको गुटगत विभाजनले पार्टी कमजोर बन्दै गएको स्वीकार गरेर आत्माआलोचना समेत गरिहेका छन् ।
नेताहरु मात्रै होइन कांग्रेसको युवा पंक्तिले पनि यहिँ भनिरहेको छ। कार्यक्रममा सहभागि युवा नेताहरु समेत पार्टीलाई गुट-उपगुटको चंगुलबाट माथि उठाउन सक्नुपर्नेमा जोड दिइरहेका छन् । कार्यकर्ता तहबाटै देखाइएको सहमतिको प्रयासले पार्टीभित्र नयाँ ऊर्जा थपिएको नेताहरु बताइरहेको भएपनि कार्यकर्ताको जनभावना अनुसार सहमतिको आधारमा एकताको सन्देश दिन सक्छन् त ?भन्ने प्रश्न पनि उब्जिएको छ। पुर्व प्रदेश प्रमुख देबराज जोशी,पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरि, पुर्वपार्टि सभापति कबिराज पण्डित,संविधान सभा सदस्य तथा पुर्व माननीय महाँँनेपाली,नेता चक्र शाह,धनराज पण्डित,नारायण पाध्याय,रनसिह अएडि,राधिका सिंह महाधिवेशन प्रतिनिधि सुमन केशी,कमल बुढा,योगेन्द्र रावल,हर्क खडायत,रिता शाहि लगायतका नेताहरु अधिवेशन केन्द्रित कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त छन् ।
के कांग्रेस बाजुरा साच्चिकै एकतावद्ध हुन्छ त ? के गुट-उपगुट रहित बाजुरा कांग्रेस बन्न सक्छ ? आठौं जिल्ला अधिवेशन मार्फत कांग्रेसले एकताको सन्देश दिन सक्ला त ? भन्ने प्रश्नहरु उब्जिएका छन् । तर विगत तिर फर्किदा त्यो सम्भावना निकै न्यून देखिन्छ । बाजुरामा एउटै पार्टी भित्र सबैभन्दा बढी आफ्नै नेताहरुले अन्तरघात,,आपसी विवाद असमझदारी,तिक्तता,मनमोटाब कुनै दलमा हुन्छ भने त्यो सम्भवत कांग्रेस पहिलो दल हो भन्दा फरक पर्ने देखिदैन। सार्वजनिक रुपमा कांग्रेसकै नेताहरुबाट उठ्ने गरेको प्रश्न,पोखिने गरेको असन्तुष्टि भित्र यो विषय अटाउन्छ ।
पार्टी भित्र नेतृत्व चयन गर्ने क्रममा होस् वा आम निर्वाचनको चुनावी अभियानमा होस् कांग्रेस नेताहरुबीच लोभलाग्दो एकता जस्तो देखिन्छ । जुन हिजोआज पनि देखिएको छ । तर निर्वाचनको मत परिणाम भने त्यो एकताको बिपरित नै आउने गरेको देखिन्छ । विगतमा भएका निर्वाचनको मत परिणामलाई केलाउदा नतिजा नेताहरुले भाषण गरे जस्तो छैन। दुई समुह बीचको आपसी विवादमा कांग्रेस रुमलिदा कयौंपटक कांग्रेसले निर्वाचनमा पराजित हुँदै आएको कांग्रेसकै नेताहरुको निस्कर्ष छ ।
विगतको मत परिणाम हेर्दा,२०४८ देखि २०७९ सम्म आलैपालो जित र हारको शृङ्खला :
बाजुरामा कांग्रेस एमाले दुई मुख्य प्रतिसपर्धी दलहरू हुन् । हरेक निर्वाचनमा यी दुई दल बीच नै रोचक प्रतिस्पर्धा हुन्छ । कहिँले कांग्रेसले त कहिँले एमालेले जित हात पार्दै आएको छ । विगतको मत परिणाम केलाउदा बहुदलपछि २०४८ मा नेपाली कांग्रेसका देवराज जोशीले १७०६६ मत ल्याएर निर्वाचित भए ।जुन बेला एमालेको मत १२४८३ मात्रै थियो। २०५१ मा एमालेका हिक्मत जङ्ग शाहीले जिते। उनले नेपाली कांग्रेसकै देवराज जोशीलाई पराजित गर्दै २१०१३ मत सहित जित हात पारे।देवराज जोशीले १९५०३ मत ल्याएर पराजित हुनुपर्यो। यस्तै २०५५ मा नेपाली कांग्रेसले जित हात पार्यो। कांग्रेस नेता जनक राज गिरीले आफ्ना दुई प्रतिसपर्धी कर्ण बहादुर थापा र हिक्मत जङ्ग शाहिलाई पराजित गरे । शाही तत्कालीन मालेबाट उम्मेदवार थिए भने थापा एमालेबाट उम्मेदवार बनेका थिए। थापाले ११०६३ मत पाए भने शाहीले ९०११० मत पाएर पराजित भए ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा फेरि कांग्रेसकै देवराज जोशीले जित्न सफल भए। त्यो बेला जोशीले १९२७१ मत सहित बिजयी बनेका थिए। यस्तै २०७४ मा आउँदा नेपाली कांग्रेसका उम्मेदवार कबिराज पण्डित एमालेका लाल बहादुर थापा संग पराजित भए। तर स्थानीय निर्वाचनमा भने एमालेलाई कांग्रेसले उछिन्न सफल भयो। २०७९ को निर्वाचनमा फेरि एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे ३१७८६ मत ल्याएर बिजयी भए भने प्रतिद्वन्द्वी कर्ण बहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए ।
यसरी २०४६ साल यता नेपाली कांग्रेसले ४ वटा निर्वाचनमा जित्यो भने एमालेले २ निर्वाचनमा जित हात पार्न सफल भयो। प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो।
संघीयता पछिका दुई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन:
२०७४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट कांग्रेस पराजित भयो। एमालेबाट लाल बहादुर थापाले जित हाँसिल गरे। प्रदेश र प्रतिनिधि सभा दुबै ठाउँबाट कांग्रेसले हात धुनुपर्यो। २०७९ मा स्थानीय तहको निर्वाचनमा निकै कमजोरी देखिएको कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने जित्न सफल भयो। २०७४ मा हारेको कांग्रेस २०७९ मा आएर चुनाव मात्रै होईन प्रतिनिधि सभा तर्फको समानुपातिकमा पहिलोदल बन्यो । अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याउन सफल भयो। नेपाली कांग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गर्यो। ।त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो भयो ।
नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ७२८ मत ल्याएर चौंथो बन्यो । यसरी कांग्रेस २०७९ को निर्वाचनमा एमालेलाई उछिन्दै जिल्लामा पहिलो दल बन्यो । प्रमुख प्रतिस्पर्धि एमालेसंग हरेक निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदै आएको बाजुरामा हरेक निर्वाचनमा एउटै दल भने जित्न सफल भएको छैन ।
संघीयता पछिका दुई स्थानीय तहका निर्वाचन :
२०७४ को स्थानीय निर्वाचनमा नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भयो। कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका जित्यो भने, एमाले तीनवटा गाउँपालिकामा विजयी भयो। कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बुढिनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा जित हात पार्यो ।
एमालेले स्वामिकार्तिक, जगन्नाथ र गौमुल गाउँपालिका गरी तीन पालिकामा मात्रै सिमित भयो। जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाअध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भयो । तर त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा मत परिणामको नतिजा उल्टियो। २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ पालिका विजयी भयो। उसले बडीमालिका र बुढीनन्दा नगरपालिका,बुुढिगंगा सहित जगन्नाथ,गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गर्यो । काँग्रेस त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका गरी तीन पालिकामा खुम्चियो । खप्तड छेडेदहमा उपाअध्यक्ष भने कांग्रसले जित्यो । ०७४ मा वडा जितेको काग्रेस ७९ मा आएर मा सिमित बन्यो।
२०७४ मा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका सिमित बन्यो। २०७९ मा आएर काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपर्यो भने एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि जित्यो।
कार्यकर्ताको जनभावना एकातिर नेताहरुको कार्यशैली अर्कैतिर :
यो मत परिणामलाई आधार मान्ने हो भने पनि बाजुरामा नेपाली कांग्रेसको पक्षमा जनमत बलियो देखिन्छ । तर पछिल्लो समयमा भएकै जनमत पनि खस्किदै गएको अवस्थामा कांग्रेस बाजुरा गुज्रीरहेको छ । आफ्नै पार्टीका कार्यकर्ताहरु असन्तुष्ट भएर निस्किने क्रम बढ्दो छ ।कांग्रेस प्रती बितृष्णा बढ्दो छ। हरेक निर्वाचनको सम्मुखमा नेता कार्यकर्याहरु पार्टी परित्याग समेत गर्दै आएका छन् । जसको एउटा प्रमुख कारण हो पार्टी भित्रको आन्तरिक कलह। जुन कलहबाट पार्टीका आम कार्यकर्ताहरु वाक्क दिक्क छन् । असन्तुष्ट छन् ।
कार्यकर्ताको एकताबद्ध कांग्रेस बनाउने जनभावनालाई कुल्चिएर नेताहरु भने आ-आफ्नै राजनीति स्वार्थपुर्तीमा लाग्दा,गुटबन्दीमा रुपलिदा मजबुत कांग्रेसको भविष्य ओझेलमा परेको देखिन्छ। जिल्लामा आफुलाई बलियो दाबी गर्ने कांग्रेस निर्वाचन मार्फत भने पुष्टि गर्न असफल हुँदै आएको मत परिणामले देखाउन्छ । जिल्लामा कांग्रेस बलियो हुँदाहुँदै पनि नेताहरुको व्यक्तिगत स्वार्थको आपसी द्वन्द्वका कारण,पार्टी हारको संघारमा पुग्ने गरेको गुनासो कार्यकर्ता स्तरमा छ। मुखमा राम राम बगलीमा छुरा भनेझै पार्टीकै नेताहरुबाट भएको बिश्वास घात र अन्तरघातका कारण निर्वाचनमा नमिठो हार बेहोरेका कयौं कांग्रेस नेता नेताहरुलाई यो कुराको राम्रो अनुभव छ ।
कतिपयले त सार्वजनिक कार्यक्रम मार्फत नै आक्रोश नपोखेका पनि होइनन् । सार्वजनिक कार्यक्रमको मञ्चमा एउटै स्वरमा सुनिने कांग्रेस बाजुराका नेताहरु निर्वाचनको मत परिणम मार्फत किन एकताको सन्देश किन दिन सक्दैनन् ? त ! यसको एउटा प्रमुख कारण कांग्रेस भित्रको गुट-उपगुटको आन्तिरिक किचलो नै रहेको युवा नेताहरु बताउन्छन् । जनमतका हिसाबले,बाजुरामा जनताको कांग्रेसलाई अपार समर्थन हुँदा पनि नेताहरुको व्यक्तिगत स्वार्थको द्वन्द्वको सिकार कांग्रेस हुँदै आएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य युवा नेता रुपेश धामी बताउन्छन् ।
निर्वाचनमा पार्टी कमजोर बन्नु,पराजित हुनुका पछाडी हरेक निर्वाचनमा बदलिँदो राजनीति समीकरण संगै अन्य पनि थुप्रै कारणहरु भएपनि त्यो मध्यको प्रमुख समस्या भने यहीँ पार्टी भित्रको दुई समुह बीचको विवाद नै रहेको उनको भनाई छ । अहिले जस्तै हरेक निर्वाचनको चुनावी प्रचार,प्रसार कार्यक्रममा वा पार्टीको नेतृत्व चयनका क्रममा होस् वा अन्य कुनै राजनीति गतिविधिका क्रममा नेताहरुले सहमतिकै कुरा उठाउन्छन्। पार्टीलाई नै बलियो बनाउने आफूहरुको चाहाना व्यक्त गर्छन् तर परिणामले किन पुष्टि गर्न सक्दैनन् त ?कार्यकर्ताहरुको जनभावना पनि पार्टी भित्र गुटबन्दीको अन्त्य होस् भन्ने नै देखिन्छ ।
उनीहरू नेतृत्वलाई सच्चिन दबाब समेत दिन्छन् । नेताहरु बीचको गुट- उपगुटको लडाइँले पार्टी कम्जोर बन्दै गएको गुनासो कार्यकर्ता गर्छन् । नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीलाई समुहमा विभाजन गरेर कम्जोर बनाउदै आएको आरोप नेतृत्व माथी कार्यकर्ताको छ । उसो त यो अब आरोप मात्रै सिमित रहेन नेतृत्वले नै यो आफुहरुको कमजोरी रहेको भन्दै स्विकार गरेको छ ।
शिर्ष नेताहरु नै छुट्टाछुट्टै गुटमा विभाजित :
कांग्रेस बाजुराका शीर्ष नेताहरु पूर्व प्रदेश प्रमुख देवराज जोशी,निवर्तमान पार्टी सभापति कबिराज पण्डित,पूर्व संविधान सभा सदस्य महा नेपाली,नेता पदम बहादुर शाही संस्थापन पक्षधर नेताहरु हुन् भने निवर्तमान सांसद बद्री प्रसाद पाण्डे,पूर्व भुमि सहायक मन्त्री जनकराज गिरी, मान बहादुर रावल ,हालका पार्टी रामसिंह रावल यी तर समुहका नेता भनेर चिनिन्छन् । सातौं जिल्ला अधिवेशन अघि संस्थापन पक्षधर नै मानिने युवा नेता चक्र शाहले अधिवेशनमा मध्यमार्गीबाट आफुलाई अघि सारेका थिए। अहिले पनि उनी आफू कुनै समुह निकट नरहेको दाबी गर्छन् ।
उसो त नेपाली कांग्रेस भित्रको गुट-उपगुटको लडाँई कुनै नौलो बिषय त होइन । पार्टीमा मात्रै होईन गुट-उपगुटको रोग कांग्रेस निकट भातृ संघ र सुभेच्छुक संस्थाहरूमा पनि सरेको छ । कांग्रेसमा बिपक्षी संगको भन्दा पनि पार्टी भित्रकै आन्तरिक प्रतिस्पर्धा अझ रोचक हुने गर्छ । संस्थापन पक्ष र यी तर समुह बीचको गुट-उपगुटको संघारबाट कांग्रेस बाजुरा पनि माथि उठ्न नसकेको स्वयम पार्टीकै नेताहरु स्वीकार गर्छन्। अथार्त कांग्रेस बाजरा पनि गुट-उपगुटको आन्तरिक विवादबाट कुनै पनि निर्वाचन होस् वा पार्टी भित्रको नेतृत्व चयन गर्ने क्रममा होस् मुक्त हुन नसकेको नेताहरुकै गुनासो छ ।
यतिबेला कांग्रेस बाजुराका नेताहरुले सहमति र एकताको रटान लगाईरहेका छन् । तर अधिवेशन सम्म दुई समुह अलग अलग खेमामा उभिने निश्चित जस्तै छ । हरेक निर्वाचनमा जुन अधिवेशनमा होस् वा निर्वाचन ताका यो दोहोरिदै आएको प्रष्टै देखिन्छ ।
योग्यता क्षमता र योगदानको कदर हुँदैन,व्यक्ति छानीछानी वितरण हुन्छ टिकट:
यतिसम्मकी एउटा पार्टीमा जब निर्वाचनको मिती नजिकीन्छ अनि पार्टीका दुई समुहका छुट्टाछुट्टै भेला हुन थाल्छन् ।पार्टीको अधिवेशनमा दुई समुह बीच नेतृत्व कसले हत्याउने ?भन्ने विषयमा होडबाजी नै चल्छ। दुई अलग खेमाबीच नेतृत्व आफ्नो पकडमा पार्न निकै घोचपेच र आरोप प्रतीआरोप पनि चल्छ । जसका कारण दुई समुह बीच असमझदारी,तिक्तता र मनमोटाब बढ्छ जसको प्रत्यक्ष असर आम निर्वाचनमा पर्छ । अझ आम निर्वाचनमा त दुई समुह बीच टिकट कसले पाउने ? कसलाई दिने र कसले लिने ? भन्ने विषय निकै रस्साकस्सी चल्छ।
पार्टीमा योगदान गरेका,सक्षम योग्य व्यक्तिहरु सम्भवत प्राथमिकतामा पर्दैनन् । बरु जो नेतृत्वको नजिक छ,सधैं नेतृत्वको पक्षमा वकालत गर्छ,वरिपरि घुम्छ उसैलाई टिकट दिईन्छ । जसका कारण पार्टी भित्र लामो संघर्ष गरेका,संगठन निर्माणमा योगदान पुर्याएका जीवननै राजनीतिमा बेतित गरेका नेताहरु उपेक्षामा पर्छन् । अनि तीनै नेताहरुमा च्रम असन्तुष्टिको प्रत्यक्ष असर निर्वाचनको मत परिणाममा देखिन्छ । यतिमात्र होईन आफ्नो गुटका नेताहरुलाई व्यक्ति छानीछानी टिकट वितरण गर्ने गरेको आरोप समेत कांग्रेसको नेतृत्व माथि लाग्ने गरेको छ ।
नेतृत्वले जनताको जनभावना बिपरित,पार्टी भित्र योगदान गरेका योग्य उम्मेदवारलाई पाखा लगाएर,आफ्नो गुटको नेतालाई टिकट दिने प्रवृतिकै कारण कांग्रेस कमजोर बन्दै गएको कतिपय नेताहरु खुल्याम आरोप लगाउन्छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा समेत पार्टी सभापति रामसिंह रावल माथि आफ्नो गुटको नेतालाई क्षमता योग्यता र योगदान भन्दा अनुहार हेरेर टिकट बाँडेको आरोप लाग्यो। उनको अहिले सम्म पनि चौतर्फी आलोचना भैईरहन्छ।कांग्रेस कमजोर बनाउने काम स्वयम् पार्टी सभापतिले गरेको देउवा पक्षधर नेताहरुले लगाए। उनको तत्कालीन समयमा राजिनामा समेत कार्यकर्ता स्तरबाट माग गरियो।
तर उनी निटक नेताहरुले भने यो रामसिंह रावलले सुरुवात नगरेको दाबी गर्छन् । जिल्लामा संस्थापन पक्ष बलियो छ।संस्थापन पक्षले इटर समुहलाई जहिले पेलेर अगाडि बढ्ने निती लिएको आरोप समेत इतर समुह निकट नेताहरुको दाबी छ। तर सातौं जिल्ला अधिवेशनमा सभापतिका यी तर समुहले जितेपछि बदलामा रावलले मनपरि आफुखुसी कार्यकर्ताको जनभावना बिपरित टिकट वितरण गरेको आरोप लाग्यो। जिल्लामा इटर समुहको सभापति हुँदा इटर समुहका नेताहरु प्राथमिकतामा पर्ने संस्थापन समुहको जिल्ला सभापति हुँदा देउवा निकट मानिने नेताहरु प्राथमिकता पर्ने गरेको भाष्य नै स्थापित भएको छ । जहाँ योगदानको कदर हुँदैन,योग्य उम्मेदवारलाई टिकट दिईदैन।टिकट नपाउनेहरु असन्तुष्ट बन्छन् । अनि उनीहरू नै पार्टी कमजोर बनाउने खेलमा अग्रसर हुन्छन् ।
के भन्छन् त नेताहरु ?
यता आगामी आठौं जिल्ला अधिवेशनमा सभापतिको सम्भावित उम्मेदवार रहेका चक्र शाहले भने बाजुरामा कांग्रेस भित्रको आन्तरिक विवादको समाधान,गुटउपगुटको राजनीतिको अन्त्य गरि बलियो,सुदृढ एकताबद्ध कांग्रेस बनाउन लागि नै आफ्नो उम्मेदवारी रहने बताउन्छन् ।
आजको प्रमुख आवस्यकता नै गुट- रहित कांग्रेस बनाउनु रहेको बताउदै उनले यो विषय आफू लामो समय देखि लागिपरेको बताउन्छन् । बाजुरामा कांग्रेस पराजित हुनुको रएउटा प्रमुख कारण पार्टी भित्रको आन्तरिक द्वन्द रहेको शाहको भनाई छ । यसको समाधान नै आजको प्रमुख आवस्यकता रहेको उनको जिकिर छ । कतिपय नेताहरु भने गुट- उपगुट मात्रै प्रमुख समस्या हो भन्ने विषय स्विकार्न तयार छैनन् । गुट-उपगुटकै कारण कांग्रेसले निर्वाचन हार्छ भन्ने भाष्य सहि नभएको युवा विद्यार्थी नेता तपेश रावल बताउन्छन्।
पछिल्लो समयमा पार्टी कमजोर बन्दै जानुको एउटा कारण यो भएपनि यहीँ एउटा मात्रै कारण हो भन्न नमिल्ने नेविसंघ जिल्ला कार्य समिति उपाध्यक्ष समेत रहेका रावलको जिकिर छ । उनले भने "७४ मा बाम एकताका कारण हामीले हार बेहोर्नु परेको उनले बताए। पार्टी भित्रको आन्तरिक विवादका सन्दर्भमा सहमतिका आधारमा अगाडी बढ्दा ७४ मा स्थानीय तहमा जितेको बताउदै ७९ मा टिकट वितरणमा असहमतिका कारण हार्नुपरेको स्वीकार गरेका छन् ।
उनले भने "हामीले सहमतिको माध्यमबाट अगाडी बढ्दा जितेका छौँ, तर पार्टी भित्रै नेताहरु बीच मनमोटाब र असहमति हुँदा हार्नुपरेको पनि छ,पार्टीको आन्तरिक प्रतिस्पर्धाको हकमा हामीले सातौं अधिवेशनमा दुई प्रदेश कार्यसमिति मध्य एक प्रदेश कार्यसमिति र जिल्लाका ९ वटा पालिका मध्य ८ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भयौं,६९ वडा मध्य वडा ६८ वडामा सहमतिमै नेतृत्व चुनेका थियौँ अहिले हामी जिल्ला तहमै नेतृत्व सर्वसहमतीमै नेतृत्व चयन गरेर एकताको सन्देश दिन चाहन्छौँ,अहिलेको आवस्यकता पनि यहीँ हो "
यस्तै यतिबेला कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका युवा नेताहरु योगेन्द्र रावल,सुमन केसी,चक्र जोशी,लगायतका युवा नेताहरु पनि गुट - उपगुट रहित कांग्रेस बनाउने उद्द्घोष गरिरहेका छन् । एकताको माध्यमबाट सर्वसहमतीबाट नेतृत्व चयन गर्ने पक्षमा कांग्रेस नेताहरु केन्द्रित देखिन्छन् र त्यहीँ भनिरहेका छन् ।
गुट- बलियो बनाउने नाममा बिचार र सिद्धान्त बिहिन् जस्तै देखिन्छ कांग्रेस
दुई समुहका नेताहरु आआफ्नो टिमको भविष्य बनाउन लाग्छन् भन्दा पनि फरक पर्दैन। निर्वाचनको बेला कांग्रेस भन्दा पनि गुटलाई उनीहरूले प्राथमिकता दिने गरेका छन् । कसरी आफ्नो गुटलाई बलियो बनाउने भन्ने कसरतमा उनीहरू लाग्छन् जसका कारण बलियो कांग्रेस बनाउने विषय ओझेलमा पर्छ । यतिसम्म कि आफुले टिकट नपाएको झोकमा कतिपयले बागी उम्मेदवारी समेत दिने गरेका छन् । कतिपय त टिकट नपाउदाको झोकले पार्टी नै परित्याग गर्ने गरेका छन् ।
हालका प्रदेश सभा सदस्य,पदम बहादुर शाही,मान बहादुर रावल जस्ता प्रभावशाली नेताहरुले समेत कुनै बेला पार्टी छोडेका थिए तर उनीहरू फेरि आफ्नै घर फर्किएर राजनीतिमा क्रियाशिल छन् । यसरी कयौं नेता कार्यकर्ताहरु पद,नपाउदाको,आबेगमा बिचार र सिद्धान्त त्यागेर अवसरको पछि दौडिएका थुप्रै नेताहरु छन् । आफ्नै पार्टी भित्रको नेतालाई पराजित गर्न उनीहरू कम्मर कसेर लाग्छन् । बिपक्षीलाई पराजित गर्न लाग्नुपर्ने असन्तुष्टहरु कांग्रेसकै चुनाब चिन्हबाट चुनाव लड्नेलाई पराजित गर्न तर्फ उद्धत हुन्छन् ।
बिपीको बिचार,गणेशमानको त्यागको बिरासतबाट हुर्किएको कांग्रेस हुँ भन्दै दाबी गर्ने कांग्रेसजनहरु व्यवाहारमा यतिसम्म महत्वाकांक्षी छन् ,कति अवसरवादी छन् ? कति धेरै पद र प्रतिष्ठा प्रती लालायित छन् ?त्यागको भावना त छदै छैन भन्ने विषय उनीहरूले टिकट नपाउदा गरेको पार्टी प्रतिको घातले पनि पुष्टि गर्छ। राष्ट्रियता लोकतन्त्र र समाजवादको नारा घन्काउने,बिपी र गणेशमानका अनुयायी बताउने कांग्रेसजनहरुले पदको मोहसंग बिपीको बिचार?गणेशमान त्यागको औचित्य समाप्त गरिसकेका छन् । पदका लागि तछाडमछाड गर्ने,नपाएको खण्डमा आफ्नै उम्मेदवारलाई घात गर्ने प्रवृति भएकाहरूले बिपी र गणेशमानको नाम जफेर उनीहरूको नै अपमान गरिरहेका छन् भन्दा फरक पर्दैन ।
कांग्रेसको आन्तरिक विवादको मौकाको फाईदा एमालेलाई :
गुट- उपगुटको चङ्गुलमा कांग्रेस फस्दा,बिपक्षी एमालेले उठाउन्छ फाइदा उठाउने गरेको छ। गुट उपगुटको लडाइँमा कांग्रेस अल्झिन्छ ।जसको प्रत्यक्ष फाईदा बिपक्षीले उठाउन्छन् । बाजुरामा कांग्रेसको प्रमुख प्रतिस्पर्धी भनेकै एमाले हो। कांग्रेस भित्रको किचलोको फाईदा एमालेले राम्रै उठाएको छ। त्यो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होस् वा स्थानीय तहको निर्वाचनमा होस् ।कांग्रेसहरु आपसमा भिड्दा एमालेजनहरु बाजुरामा उत्साहीत हुन्छन् । कांग्रेसले वडा, पालिका जिल्ला प्रदेश सम्मको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। सोही अनुसार यतिबेला कांग्रेस नेताहरु अधिवेशनको तयारीमा जुटेका छन् ।
को को छन् ?आठौं जिल्ला अधिवेशनका आकांक्षी
आठौँ जिल्ला अधिवेशन नजिकिए संगै कांग्रेस बाजुराका नेताहरु पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन् । अधिवेशन नजिकिएसंगै बाजुरा कांग्रेसमा अबको सभापति को भन्ने बिषय चाँसोको विषय बनेको छ। अहिले सम्म कुनै पनि उम्मेदवारले आधिकारिक रुपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् । यद्यपी सातौँ जिल्ला अधिवेशनमा कुनै प्यानलबाट नभई स्वतनत्र उम्मेदवारका रुपमा आफूलाई उभ्याएका चक्र शाह उम्मेदवारको आकांक्षि रहेको उनका समर्थकहरु बताउन्छन् । कतिपयले त सामाजिक सञ्जाल मार्फत उम्मेदवारका रुपमा अघि सार्दै प्रचार समेत गर्न थालिसकेको देखिन्छ ।
अन्य नेताहरुले भने अहिले कार्यकर्ता भेटघाट कार्यक्रममा गएर सहमति र एकताको रटान लगाईरहेको छन् । आगामी अधिवेशनमा प्रदेश सभा सांसद पदम बहादुर शाही,पूर्व संविधान सभा सदस्य महा नेपाली, धनराज पण्डित,चक्र शाह लगायतका नेताहरु सभापतिका सम्भावित उम्मेदवार रहेको श्रोतको भनाई छ । अहिलेसम्म औपचारिक घोषणा भने कसैले गरेका छैनन् ।
सातौं जिल्ला अधिवेशनमा हावा खाएको संस्थापन पक्ष
यस अघि सातौँ जिल्ला अधिवेशनमा मध्यमार्गीबाट चक्र शाह, इटर समुहबाट रामसिंह रावल र संस्थापन पक्ष अर्थात देउवा प्यानलबाट कबिराज पण्डित प्रतिस्पर्धामा उत्रिए । उनिहरु बीच सहमति नहुँदा अन्ततः निर्वाचन मार्फत नेतृत्व चयन भयो । पहिलो चरणको निर्वाचनमा मा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणको मतदान भयो । दोस्रो चरणनको मतदानबाट बाट रामसिंह रावलले सभापतिमा बाजी मारे । पहिलो चरणको मतदानबाट बाहिरिएका चक्र शाहले रावल राम सिंह रावल प्यानललाई सघाएपछि रावलले बाजी मारे । संस्थापन पक्षका कबिराज पण्डित पराजित भए ।
कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन्। दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार १ सय ८२ मतमध्ये रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएर जित हाँसिल गरे । १ हजार १ सय ८२ मत मध्य १ हजार १ सय ७१ मत सदर र ११ मत बदर भएका थिए। रामसिंह रावलले ३९ मत बढी ल्याएर विजयी भएका छन्। रावलको जितसँगै जिल्लामा पौडेल–सिटौला प्यानलले अधिकांश पदमा कब्जा जमायो । संस्थापन पक्ष बडारिन पुग्यो । आठौं जिल्ला अधिवेशनबाट को को उम्मेदवार बन्दैछन् ? सहमतिको माध्यमबाट नेतृत्व चयन हुन्छ वा निर्वाचन नै हुन्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ ।
यद्यपि सहमति र एकताको सुगा रटान लगाईरहेका नेताहरु आफ्नो अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गर्न सक्लान् भन्ने चाँसोको विषय बनेको छ।यो हेर्न भने महाधिवेशन सम्म कुर्नै पर्ने हुन्छ । मधाधिवेशन मात्रै होईन फागुन २१ को निर्वाचन पनि नजिकिदै छ । अबको निर्वाचनमा कांग्रेसले ७४ मा गुमाएर ७९ मा फर्काएको बिरासत कायम गर्ला वा गुमाउला ? जेनजी आन्दोलन पछि तत्कालिन सत्ता साझेदार दल कांग्रेस र एमालेको औचित्य माथि गम्भिर पश्न चिन्ह खडा भएको छ।
पुराना दलहरुको औचित्य नै समाप्त भइसकेको भाष्य स्थापित गर्न खोजिएको वर्तमान परिस्थितिमा पुराना दलहरु कि सच्चिन की सक्किन तयार हुनुपर्ने परिस्थितिमा गुज्रिरहेका छन्। यहिँ बीचमा बैकलिपक राजनिती शक्तिहरुपनि बाजुरामा चुनावी प्रतिस्पर्धामा उत्रिने देखिन्छ। यद्यपी बाजुरामा यसको प्रभाव पर्ने कम देखिएपति समयमा सच्चिएर अघि बढ्न नसके कांग्रेसको आगामी भबिष्य खतरामा पर्न सक्ने आंकलन गरिएको छ। विगत जस्तै गुटबन्दीमा फेरी पनि कांग्रेस रुमलियो भने, सच्चिएर,कमजोरीहरु सुधार गरेर आत्मआलोचना सहित जनता माझ जान नसकेको खण्डमा बलियो भनिएको कांग्रेसलाई अब हुने निर्वाचनमा जित्न फलामको चिउरा चपाउनु सरह चुनौतीपूर्ण नहोला भन्न सकिन्न ।