छेडेदह ताललाई गाउँपालिकाको स्वामित्वमा लिन माग गर्दै पालिकाको ध्यानाकर्षण

गाँउपालिका अध्यक्ष भन्छन् मागहरु सम्बोधन गर्न तयार छौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

पर्यटकीय सम्भावना बोकेको छेडेदह तालको अस्तित्व नै मेटिने परिस्थिति बनिसक्दा पनि पालिकाले देखिने गरि ठोस पहल नगरेको पनि विज्ञप्ती मार्फत भनिएको छ । प्रदेश र संघ सरकारबाट समेत उपेक्षामा रहेको छेडेदह ताल संरक्षणमा पालिकाले नै देखाएको गैरजिम्मेवारीपन स्विकार्य नहुने भन्दै तत्काल मागहरू पूरा नगर्ने थप संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ । विज्ञप्ती बुझ्दै पालिका अध्यक्ष रावतले छेडेदह तालको संरक्षणको लागि पहल गर्न राजधानी काठमाडौं आएको बताउदै यसका लागि निरन्तर खटिरहेको दाबी गरेका छन् ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

गाँउपालिका अध्यक्ष भन्छन् मागहरु सम्बोधन गर्न तयार छौँ

काठमाडौं : बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न .४,५ र ७ को बीचमा पर्ने छेडेदह ताललाई तत्काल आफ्नो स्वामित्वमा लिन माग गरिएको छ। छेडेदह गाउँपालिका स्थायी घर भएका र विभिन्न सिलसिलामा राजधानी काठमाडौंमा रहेका युवाहरुले सयुक्त हस्ताक्षरित विज्ञप्ती बुझाउदै दशैँ तिहार अगाडी नै गाउँपालिकाले ताल आसपासको विवादित जग्गालाई आफ्नो स्वामित्वमा लिन माग गरेका हुन् ।

दशैँ तिहार अगाडी नै विवाद समाधानका लागि ठोस पहल गर्न पनि भनिएको छ ।  छेडेदह तालको संरक्षणमा पालिका नै जिम्मेवार नदेखिएको र स्थानीय सरकारबाट छेडेदह ताल उपेक्षामा रहेको  विज्ञप्तीमा भनिएको छ । गाउँ गाउँ बीचको विवादलाई कारण बनाएर स्थानीय सरकार संरक्षण गर्ने दायित्वबाट पन्छिने गरेको विज्ञप्तीमा उल्लेख्य छ । पहिरोको उच्च जोखिममा रहेको छेडेदह तालको पहिरो रोकथामका लागि प्रदेश र संघ सरकार संग समन्वय गर्न खुला चरिचरण,सवारी साधन आवागमनमा रोक लगाउनुपर्ने र तालको संरक्षणका लागि तत्काल एक जना चौकीदार राख्नुपर्ने लगायतका  बुँदे माग युवाहरुले राखेका छन् ।

पर्यटकीय सम्भावना बोकेको छेडेदह तालको अस्तित्व नै मेटिने परिस्थिति बनिसक्दा पनि पालिकाले देखिने गरि ठोस पहल नगरेको पनि विज्ञप्ती मार्फत भनिएको छ । प्रदेश र संघ सरकारबाट समेत उपेक्षामा रहेको छेडेदह ताल संरक्षणमा पालिकाले नै देखाएको गैरजिम्मेवारीपन स्विकार्य नहुने भन्दै तत्काल मागहरू पूरा नगर्ने थप संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ । विज्ञप्ती बुझ्दै पालिका अध्यक्ष रावतले छेडेदह तालको संरक्षणको लागि पहल गर्न राजधानी काठमाडौं आएको बताउदै यसका लागि निरन्तर खटिरहेको दाबी गरेका छन् ।

यहीँ तालको संरक्षणका लागि भनेर उपाध्यक्ष सहित सम्बन्धित सरोकारवाला निकाय धाईरहेको पनि अध्यक्ष रावतको भनाई छ । पालिकाको बजेटले मात्रै तालको संरक्षण गर्न सम्भव नभएकाले प्रदेश र संघ सरकार संग निरन्तर पहल भैईरहेको पनि अध्यक्ष रावतले बताए। रावतले गाउँ(गाउँ बीचको विवाद मिलाउन पालिकाको तर्फबाट केही प्रयास नभएको भन्ने कुरा स्विकार्य नभएको भन्दै पालिकाको तर्फबाट यसका लागि पटकपटक छलफल भएको दाबी गरेका छन् ।

विज्ञप्ती मार्फत राखिएका मागहरु पूरा गर्न पालिका प्रतिबद्ध रहेको पनि प्रतिबद्धता जनाएका छन् । युवा लक्षित कार्यक्रमहरु संचालन,युवा स्वरोजगार कार्यक्रम बिषयक र छेडेदह तालको संरक्षण गर्न माग गर्दै प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएईएको छ । छेडेदहका सम्पुर्ण युवाहरूको सयुक्त हस्ताक्षरित दुई वटा विज्ञप्ती बुझाईएको छ । 


                                                    यस्तो छ विज्ञप्ती

                                           खप्तड छेडेदह गाँउपालिकाको
                                              कार्यालय डोगडी बाजुरा   
                         
                                                         प्रेस विज्ञप्ती 
उपरोक्त विषयका सम्बन्धमा प्रकृतिकै अनुपम उपहार, बाजुरा जिल्ला खप्तड छेडेदह गाँउपालिका वडा न. ४,५, र ७ को बीचमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सुन्दर छेडेदह ताल हाम्रो पहिचान हो, हाम्रो गौरव हो, र एक मात्रै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । हाम्रो  गाउँपालिकाको मात्र नभैई जिल्लाकै ऐतिहासिक महत्त्व बोकेको पर्यटकिय दृष्टिकोणले अति नै सम्भावना भएको  छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा छ । तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् ।  नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै यो ताल ओझेलमा रहेको कुरा हामी छेडेदह वासी युवाहरुको ठम्याई छ । 

गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ८ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन।  जनप्रतिनिधि  फेरिए तर तालको अवस्था भने उस्तै छ । बरु चुनावका बेला सो ताललाई  जनप्रतिनिधिले भोट माग्ने भाँडोको रुपमा प्रयोग गर्दै आएको कुरा आखै अगाडि छ । स्थानीय सरकारका जनप्रतिनिधि मात्रै होइन प्रदेश र संघ सरकारका जनप्रतिनिधिले समेत चुनावका बेला भोट माग्ने भाँडोका रुपमा प्रयोग गर्दै आएको छेडेदह तालको संरक्षण, प्रबर्द्धन, प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कसरी भित्र्याउने भन्ने कुरामा पहिलो कुरा गाउँपालिका समेत  चिन्तित नदेखिएको हाम्रो बुझाई छ । 

तालको प्रबर्द्धनका लागि पालिकाले दीर्घकालिन रणनीति तयार पार्दै आएको भएपनि कार्यान्वयन भने हुन नसक्नु दुःखद विषय हो । बरु गाउँ गाउँमा बीचको बिबाद देखाएर गाउँपालिकाका जनप्रतिनिधि पनि चुपचाप बसेको र विवादको कारण देखाएर संरक्षण गनुपर्ने दायित्वबाट पन्छिने गरेको आरोप समेत लाग्दै आएको छ। यद्यपि हामी गाँउपालिका भित्रको सचेत युवा पुस्ता हौँ. हामी कसैले लगाउने गरेको आरोपलाई आधार बनाएर आरोप माथि आरोप थप्ने पक्षमा त छैनौँ तर पालिकाले दुई गाँउ बीचको विवादलाई मिलाउन  देखिने गरी ठोस पहल नगरेको परिणममुखी देखिएकाले विवादको कारण देखाएर पालिका आफ्नो दायित्वबाट पन्छिने गरेको आरोपलाई नकार्न पनि सक्दैनौँ । 

अघिल्लो कार्यकालका जनप्रतिनिधिले पनि यहीँ बिबादको कारण देखाउदै पाँच वर्ष बिताएको यथार्थता हाम्रा बीचमा छ । जनप्रतिनिधिले पटकपटक बिबाद मिलाउनको लागि आवस्यक समन्वय, सहकार्य र छलफल सबै संग गरिरहेको दाबी गर्दै आएको भएपनि परिणाम भने शुन्य छ ।  एकातिर पहिरोको उच्च जोखिममा छ । हालसम्म पहिरो रोकथामका लागि समेत कागजी निर्णय बाहेक ठोस पहल भएको छैन । जसका कारण हाम्रो अस्तित्व नै मेटिने ताल नै नरहने जोखिम बढ्दै गएको छ । 

अर्कोतिर खुला ताल परिसरमा चरिचरण, तालको छेउसम्मै सवारी साधन आवतजावत, तालको छेउमै बनभोज कार्यक्रम,लगायतका तालको सन्दरतामा नै ह्रास आउने गरी वातावरण प्रदुर्षित हुने खालका गतिबिधि भइरहेका छन् । तालको संरक्षणका लागि भनेर विनियोजन गरिएको बजेटको समेत दुरुपयोग गरि उल्टै तालको सुन्दरता मास्ने खालका गतिबिधिहरु वर्षेनी भइरहेका छन्। यस्ता गतिबिधहरु निरनतर भइरहेको भएपनि स्थानीय सरकार मुख दर्शक भएर रमिते बनिरहेको प्रति हामी आम छेडेदह वासी युवाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।


गाउपालिकालाई जिल्लामा मात्रै होइन देशभर चिनाउने हाम्रो पहिचानका रुपमा रहेको छेडेदह ताल संकटमा हुँदा समेत विवादको कारण देखाएर पन्छिन खोज्नु र संरक्षणमा पालिका लाचार  बन्नु गैरजिम्मेवारीपन हो भन्ने हामी आम युवाहरुको दाबी छ  । प्रदेश र संघ सरकारको नजरमा पर्न नसकेको प्रकृतिको अनुपम उपहार छेडेदह ताल स्थानीय सरकारको लाचारिपनका कारण संरक्षण अभावमा थप संकटमा पर्दै गएको कुरा ध्यानाकर्षण गराउदै तत्काल विवाद समाधानका लागि ठोस पहल गरी छेडेदह ताललाई तत्काल आफ्नो स्वामित्वमा लिन  पालिका संग जोडदार माग गर्दछौँ । 

हालसम्म कुनै व्यक्तिको नाममा नभएको तर स्थानीयले उपभोग गर्दै आएको कारण आआफ्नो दाबी गरिहेको परिस्थितिमा पालिकाले तत्काल आफ्नो स्वामित्वमा लिन कुनै कानुनी आधारमा कसैले रोक लगाउन सक्ने अवस्था छैन । पालिकाले चाहेको अवस्थामा आफ्नो स्वामित्वमा लिन सक्ने कानुनी बाटो खुला छ । यस्तो अवस्थामा पनि फेरी पनि विगत जस्तै आनाकानी गरे यसका बिरुद्धमा हामी थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने कुरा पनि अवगत गराउद छौँ । 

नजिकको तिर्थ हेला भने झै पालिकाबाटै छेडेदह ताललाई गरिएको उपेक्षा स्विकार्य छैन । पालिका तत्काल जिम्मेवार नबनेको खण्डमा हामी युवाहरु जस्तोसुकै मुल्य चुकाउन बाध्य हुनेछौँ । छेडेदह तालको संरक्षण गर्ने हामी सबैको दायित्व हो । स्थानीय सरकार जनप्रतिनिधिलाई विवादको कारण देखाएर आनाकानी गर्ने र पंछिने छुट छैन । आफ्नो दायित्वबाट पन्छिएर सरोकारवाला निकायका कुनै पनि व्यक्ति वा संस्थाले राजनिति रोटी सेक्ने नाममा गरिने कुनैपनि सम्झौताहरु स्विकार्य हुने छैनन् । 

तालको संरक्षणका पालिकाले तत्काल निम्न उल्लेखित कार्यहरु यथास्थिति अगाडी बढाओस् 
 हाम्रा मागहरु:-
१. आगामी २०८२ सालको दशैँ तिहार अघि नै छेडेदह ताल परिसरको जग्गाको विवाद मिलाउन पालिकाले पहल गर्नुपर्ने । 
२.तत्काल छेडेदह तालको हेरचाहका लागि एक जना चौकिदारको व्यवस्था गनुपर्ने । 
३.पहिरो रोकथामका लाथि प्रदेश र संघ सरकार संग पहल गर्नुपर्ने । 
४.ताल परिसर भित्र सवारी साधन र खुला चरिचरण, पूर्ण रुपमा बन्देज गरिनुपर्ने । 
५.तत्काल छेडेदह तालका लागि बिद्युत र खानेपानीको व्यवस्था गर्नुपर्ने । 
६.बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउनका लागि डुंगाको व्यवस्था गर्नुपर्ने


 दोस्रो विज्ञप्ती जस्ताको त्यस्तै यो पनि पढ्नुहोस् :

                                   खप्तड छेडेदह गाँउपालिकाका

                                              डोगडी बाजुरा 

                                                प्रेस विज्ञप्ति

हामी खप्तड छेडेदह गाउँपालिका का सचेत र जागरूक युवाहरू हौँ पालिकाको विकास, पालिका वासिहरुको सुखद र समृद्ध हामी सबैको साझा चाहाना हो । र पालिका बनाउने दायित्व पनि हामी सबैको हो । गाँउमै सिंहदरबार पुगेको ८ वर्ष पुगिसक्दा पनि जनप्रतिनिधि फेरीए जस्तो पालिका नफेरीएको कुराले हामी आम छेडेदह वासी युवाहरु चिन्तित छौँ । पालिकाको समग्र कामकाज, जवाफदेहिता र विकासमा कछुवाको गतिले हामीलाई पटकपटक सोच्न बाध्य बनाएको छ । हामी यो प्रेस बिज्ञप्ती मार्फत छेडेदहका युवाहरुको चित्कार प्रस्तुत गर्दैछौँ । 

यो छेडेदहका  युवाहरुको चिच्याहट हो। रोजगारिका लागि भौतारिएर भारतका गल्ली–गल्लीमा पसिना बेचेर पेट पालिरहेका हाम्रा दाजुभाइ र चेलीबेटीहरूको बिलख–करुण पुकार हो।नेपालको संविधानले स्थानीय तहलाई समावेशी र उत्तरदायी बनाउने कल्पना गरेकोको भएता पनि वास्तविकता भने यस विपरीत देखिएको छ – विशेषगरी युवाहरूको भविष्यप्रति पालिकाको उदासीनता देखिन्छ । स्थानीय सरकार शिक्षा ,,स्वास्थ रोजगारी,यातायात,पर्यटन, कला सस्कृती,, जस्ता महत्त्वपूर्ण विषयमा समेत पालिकाको चरम लापरबाही प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।  

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र नेपाल युवा नीति २०७२ — सबैले युवालाई नेतृत्व, निर्णय, रोजगारी र सीपको केन्द्रमा राख्न स्पष्ट व्यवस्था गरेको भएता पनि तर खप्तड छेडेदह गाउँपालिकामा ती प्रावधानहरू केवल कागजी दस्तावेजमा मात्रै सीमित रहेको हाम्रो ठहर छ ।  आजका मितिसम्म पालिकाले देखिने गरी कुनै युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न सकेको छैन । युवाहरुको पक्षमा पालिका सरकार नभएको महसुस भइरहेको छ।  

आज हामी प्रश्न गर्न बाध्य भएका छौँ युवावर्गका लागि घोषणा गरिएका कार्यक्रमहरू कहाँ छन् ?स्वरोजगारका नाममा आउने बजेट कहाँ छ?योजना बनाउँदा युवाहरुको सहभागिता किन छैन? कुनैपनि क्रियाकलापमा युवाहरुको शुन्य सहभागिता छ । चुनावका बेला युवाहरुलाई गाँउमै रोजगारी दिन्छौँ भनेर भोट माग्ने जनप्रतिनिधिहरु चुनाव जितिसकेपछि युवाहरुलाई गाँउमै बस्ने वातावरण बनाउने गरी युवा स्वरोजगारका कार्यक्रमहरु किन ल्याउन सकिरहेका छैनन? जसका कारण विदेशीने क्रम घट्नु पर्नेमा झनझन बढीरहेको छ ।

कहिँलेसम्म हामी युवाहरुले तपाँईलाई भोट हालेको पछिल्लो दिनमा निधारमा लाम्लो र पिठ्युँमा जिम्मेवारीको झोला भिरेर विदेश गइरहनुपर्छ ?कहिँलेसम्म हामी बेरोजगार भइरहने ? युवाहरुको भविष्य प्रति किन स्थानीय सरकार गम्भिर छैन ? युवा लक्षित कार्यक्रमहरु बारे अहिलेसम्म पालिका र वडास्तरमा एकपटक पनि युवा–पालिका सार्वजनिक संवाद भएको छैन। किन युवाहरु पति यति निरीह बन्दैछ ? हजारौँ युवाहरु पेट पाल्नका लागि बिदेशी रहेका छन् ? यो बिदेशीने क्रम रोक्ने जिम्मेवारी पालिकाले लिनुपर्छ कि पर्दैन? युवाहरु चाहिने चुनावका बेला मात्रै हो ? जसका कारण आज हाम्रा हजारौँ दाजुभाईहरु बिदेशमा पसिना बगाइरहेका छन् ।

हाम्रो पालिकाका नागरिकहरु पेट पाल्नका लागि रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा पुग्ने गर्छन् ।  भारी बोकेर दिन गुजारा गर्नु उनिहरुको दैनिकी बनेको छ।  कयौं युवाहरु विभिन्न कारणले ज्यान गुमाउदै आएका छन् । रोजगारीका लागि बिदेशीनु सबै नेपाली युवाहरुका लागि  नियति जस्तै बनेको छ। यसबाट हाम्रो पालिका पनि अछुत हुन सकेको छैन । जिविको पार्जनका लागि भारत जानुपर्ने परिस्थिति निकै दुर्भाग्यपूर्ण र कहालीलाग्दो छ। हाम्रा  युवाहरु भारतको पौडी गडवाल,दिल्ली,अलमोडा पिथौरागड, रानीखेत, केदारनाथ लगायतका क्षेत्रमा गएर ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।

अधिकांश त सपरिवार भारतै बस्ने गरेका छन् । रोजगारीको सिलसिलामा भारत गएका अधिकांशको भारतमै विभिन्न कारणले मृत्यु हुने र कयौं उतै बेपत्ता हुने गरेको कहालीलाग्दो अवस्था छ । खेतीपाती गरेर ६ महिना पनि परिवारको छाक टार्न नपुग्ने भएपछि भारत लगायतका बिदेशी मुलुकमा ज्याला मजदुरी गेरेर परिवारको दिन गुजारा चाउनुपर्ने बाध्यता छ।

कयौं बेपत्ता छन् कयौं अङ्गभङ्ग भएका छन् , कयौँ बिरामी भएर थला परेका छन् उपचार पाएका छैनन् । कयौंको मृत्यु भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका भएपनि बिदेशीने क्रम भने बढ्दो छ। तर बिडम्बना पालिकाले भारतमा रहेका आफ्ना नागरिक बारे चाँसो समेत नदेखाउनु दुःखद विषय हो । 

स्मरण गराउन चाहान्छौँ । हामी कुनै राजनिति दल बिशेष भएर यो प्रश्न गरिहेका छैनौँ, आवाज बुलन्द गरिरहेका छैनौँ । हामी हाम्रो पालिकाको र हाम्रो पुस्ताको भविष्यका लागि आवाज उठाइरहेका छौं। कसैलाई भ्रम नहोस् की हामी कसैको बिरुद्धमा बोलिरहका छौँ । हामी शान्तिपूर्ण, जिम्मेवार र लोकतान्त्रिक तरिकाले दबाब सिर्जना गर्ने प्रयास गरिहेका छौँ ।

अन्यथा हाम्रो मौनतालाई हाम्रा प्रश्नलाई, हाम्रा मागहरुलाई नजरअन्दाज गरी फेरी पनि पालिका गैरज्मिमेवार भएको खण्डमा हामी जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुनेछौँ । निम्न लिखित मागहरुलाई पालिकाले व्यवास्ता गरेको खण्डमा चरणबद आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने चेतावनी समेत दिन चाहान्छौँ ।   अबको अवको नेतृत्व विचारले होइन, व्यवहारले मापन हुनेछ। युवाको आवाजहरु दवाउने दस्साहास नगरिओस् । 
 
हाम्रा मागहरू  
१ं.आगामी २०८२  दसै भित्र युवा लक्षित बजेट संगै कार्यक्रमहरू सार्वजनिक गरियोस् ।
२.  पालिकामा युवा कल्ब गठनका लागि आह्वान गरियोस्, वडामा पनि कमिटी विस्तार गरिओस् ।  
३. पालिकामा हुने सबै सार्वजनिक योजना, खर्च र निर्णय पारदर्शी बनाइयोस्।
५. हरेक चार महिनामा पालिका–युवा संवाद कार्यक्रम अनिवार्य आयोजना गरिओस् । 
६.  भारतमा रहेका सम्पूर्ण छेडेदहबासीहरूको यथार्थ अभिलेख तयार पारियोस्।
२। पालिकाले भारतस्थित नेपाली दूतावाससँग तत्काल समन्वय गरियोस्।
३। विपद् राहत कोष वा आकस्मिक सहायता कार्यक्रम अन्तर्गत सहयोग प्याकेज निर्माण गरियोस्।
४। उनीहरूको अवस्थाबारे बुझ्न परिवारहरूसँग सम्पर्क अभियान चलाइयोस्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।