कयौँ खोलामा पूल नहुँदा सास्ति बेहोर्दै बाजुराका नागरिक
बाजुरा: मनसुन सुरु भएपछि बाजुराका बिभिन्न खोलामा पानीको बहाब बढेसंगै आवतजावतमा समस्या भइरहेको छ । हरेक वर्षको मनसुनमा बाजुराका नागरिकले कयौँ खोलामा पूल नहुँदा सास्ति बेहोर्दै आइरहेका छन् । बडीमालिका नगरपालिकाले बाउलीखोलामा पनि आवतजावत गर्नेका लागि जोखिमपूर्ण थियो । उक्त जोखिमलाई मध्यनजर गर्दै बडीमालिका नगरपालिकाले बाटोमा फलामे सिँढी जडान गरेपछि स्थानीय खुसि भएका छन् ।
मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत झोलुंगे पुलको मुखमा रहेको जीर्ण र अप्ठ्यारो पक्की सिँढी हटाएर नयाँ फलामे सिँढी राखिएको बडीमालिका नगरपालिकाको कार्यालयले जनाएको छ। यसअघि सिँढीको आधारका लागि राखिएको ग्याबिन जालीसमेत भासिएर बाटो झन् जोखिमपूर्ण बनेको थियो ।
जोखीम मोलेर आवतजावत गर्दै आएका स्थानीयको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सिँढी निर्माण गरेको बडीमालिकाका नगरप्रमुख अमर खड्काले बताएका छन् । गत असार १५ गते नगर प्रमुख अमर बहादुर खड्काले स्थल अनुगमन पनि गरेका थिए ।
पहिलाको तुलनामा अहिले आवतजावत सहज र सुरक्षित भएको स्थानीय बताउन्छन् । वर्षायाममा सडक अवरुद्ध हुँदा मार्तडीदेखि बडीमालिका–७ तथा पूर्वीउत्तरी क्षेत्रतर्फ यही बाटो प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।
नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सिँढी निर्माण गरिएको नगर प्रमुख खड्काको भनाई छ ।